काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरभित्रको जलहरीलाई पूरै स्वर्णमय बनाउन पहल गरिने बताउनुभएको छ ।
महाशिवरात्रिका अवसरमा आज बेलुकी मन्दिर दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । मन्दिरमा दैनिक रुद्राभिषेकका लागि प्रयोग गरिने जलहरीको केही भाग सुनको भए पनि अधिकांश चाँदीको छ । राष्ट्रपतिले सो अवसरमा पशुपतिनाथ मन्दिर परिक्रमा गरी मूल भट्ट गणेश भट्टबाट प्रसाद पनि ग्रहण गर्नुभयो ।
यसैगरी पूर्वयुवराज पारस शाह र नेपालका लागि भारतीय राजदूत रणजीत रायले पनि आज बेलुकी नै मन्दिरको दर्शन गर्नुभयो । महाशिवरात्रिका अवसरमा अहिलेसम्म १३ लाख बढी भक्तजनले पशुपतिको दर्शन गरिसकेको अनुमान कोषले गरेको छ । दुई लाखभन्दा बढी भारतीय भक्तजन यस वर्ष पशुपतिमा आएका छन् । आज राति लाइन बसेजति सबैलाई दर्शन गर्न दिइनेछ । लाइनमा बसेका भक्तजनले दर्शन गरिसकेपछि मात्र पशुपति क्षेत्रका मूल ढोका बन्द गरिनेछ । यस वर्ष कोषले सःशुल्क खारेज गरी सबै भक्तजनलाई लाइनमै राखेर पशुपति मन्दिरभित्र प्रवेश गराएको थियो । रासस
No comments:
Post a Comment