Thursday, February 16, 2017

तीन किशोरीको उद्धार, दुई दलाल पक्राउ

बर्दिया (गुलरिया), ५ फागुन । किशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ । कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । एकजना फरार छन् ।

मानव बेचबिखनको अभियोगमा बर्दिया मैनापोखर गाविस–९ की २८ वर्षीय शान्तिकुमारी थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भई हाल मैनापोखर–९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

मानव बेचबिखनका प्रमुख नाइके जमुनी–१ का ४४ वर्षीय दुर्गा विक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिप्रका, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

इप्रका, मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका र जमुनीबाट गोरखाका तीनजना युवतीलाई उद्धार गरेको हो । गोर्खाका २५ वर्षमुनिका किशोरीलाई नेपाल–भारत सीमा पार गराएर दिल्ली हुँदै वैदेशिक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौँ हुँदै बर्दिया पु¥याएको र पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन् ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

दुई साताअघि पनि बर्दिया प्रहरीले विभिन्न प्रलोभन देखाई भारत हुँदै खाडी मुलुक लैजान लागिएका नौजना महिलालाई उद्धार गरेको थियो भने छजनालाई पक्राउ गरी कारबाही चलाएकोे बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts