Saturday, February 18, 2017

उपत्यकामा पाँच सय ३३ किमी पाइप बिछ्याइयो

काठमाडौँ, ७ फागुन । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ ।

उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पु¥याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा मेलम्चीको पानी उपत्यकामा आउनु अघि नै पाइप बिछ्याउने कामसक्न ४० स्थानमा पाइप राख्ने काम भइरहेको जानकारी गराइयो ।

निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइप बिछ््याउने क्रममा सडक खन्दा निस्कने धुलोलाई व्यवस्थापन गर्न वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय (सेफ गार्ड) नीति बमोजिम काम भइरहेको बताउनुभयो ।

“दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको छ, राति काम गरी बिहानै सडक पुनःस्थापना गरिन्छ, सडक खन्ने स्थानमा हरियो नेट स्थापना गरी माटो त्यहीँ पर्ने व्यवस्था मिलाइएको छ”–उहाँले भन्नुभयो ।

निर्माण सकिनासाथ सडक पुनःस्थापना र कालोपत्र गर्ने गरिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने सो अवसरमा जानकारी गराइयो । त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुनेछ ।

खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले पानी वितरण सञ्जाल निर्माण गर्दा धुलो कम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोयामाले वातावरणीय सन्तुलन नबिगारी काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । मेलम्ची आयोजना दुईको रु २६ अर्ब बजेटमध्ये हालसम्म रु १२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी गराइयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts