Friday, March 24, 2017

क्षयरोगको अन्त्य नियमित औषधि सेवन र सचेतना नै

बुटवल, ११ चैत । गुल्मी जिल्ला भार्सेकी झनीमायाँ दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उहाँले बुटवलका विभिन्न ठाउँमा उपचार गराउनुभयो । तर उहाँको रोग निको हुनुभन्दा झनै बल्झियो ।

जिल्लाकै सदरमुकाम तम्घासमा पुगेरसमेत उपचार गराउँदा निदान हुनुको सट्टा यो रोगले झनै गलाउँदै लग्यो । अन्त्यमा बुटवलको अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उहाँलाई जटिलखालको एमडिआर क्षयरोग देखाप¥यो ।

रोग पत्ता लागेपछि उहाँलाई चिकित्सकले २४ महिना क्षयरोग (टिभी)को उपचार गर्नुपर्ने सल्लाह दिए, त्यसपछि उहाँ बुटवल डट्स आवासगृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।

जिल्ला जनस्वस्थ्य कार्यालयले क्षयरोग दिवसका अवसर पारेर बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार तथा सरोकारवाला निकायबीचको अन्तक्र्रियामा दर्लामीले निकै चिन्तित भएर लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलसँग प्रश्न गर्नुभयो – “शक्तिशाली औषधिले समेत काम नगर्ने एमडिआर टिभी के साँच्चिकै नै निको हुन्छ त ?”

जवाफमा डा पौडेलले भन्नुभयो – “चिकित्सकको निगरानीमा नियमित औषधि सेवन र जाँच गरेमा केही लामो समय लागे पनि रोग निको हुन्छ ।”

बुटवलको डट्स क्लिनिकमा आर्घाखाँचीबाट उपचारार्थ आएर आवासीय रुपमै उपचार गराएका दिवाकर नेपाली यस्तैखालको जटिल क्षयरोग एक्सडिआर टिभीको उपचार गरेर निको हुनुभयो । उहाँले २० महिना नियमित औषधि सेवन र नियमित जाँच गराएर अहिले पूर्णरुपले निको भएर घर फर्कने तयारीमा हुनुहुन्छ ।

नेपालीले भन्नुभयो – “सरकारले उपलब्ध गराएको यस्तो निःशुल्क सेवाले म जस्ता धेरै बिरामीलाई सुविधा प्राप्त भएको छ, यो सेवालाई जिल्लाका अन्य ठाउँमा समेत उपलब्ध गराउनुपर्छ ।”

बुटवलमा यस्ताखाले जटिल क्षयरोगीलाई नियमित औषधि सेवन र चिकित्सकीय सेवा प्रदान गर्न विगत पाँच वर्षदेखि डट्स आवासगृहको व्यवस्था गरिएको छ । उक्त आवासगृहमा अहिले पनि यस्तै लामो समय औषधि सेवन गर्नुपर्ने र जटिलखालका क्षयरोगी बस्दै आएको लुम्बिनी अञ्चल अस्पताल, बुटवल क्षयरोग क्लिनिकका प्रमुख सत्यराज शाक्यले जानकारी दिनुभयो । उनीहरुलाई सरकारले खान बस्नसहित मासिक रु दुई हजार ५०० समेत उपलब्ध गराउँदै आएको पनि उहाँले बताउनुभयो ।

रुपन्देहीमा पछिल्लो तथ्याङ्कअनुसार क्षयरोगका नयाँ रोगी प्रति एक लाखमा १४० पत्ता लाग्ने गरेको पाइएको छ । यो राष्ट्रिय तथ्याङ्कको तुलनामा न्यून छ । यस्तै क्षयरोगका बिरामी निको हुने दरमा पनि उल्लेख्य प्रगति देखिएको छ भने मृत्यु दर प्रतिएक लाखमा जम्मा चारजना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

रुपन्देहीमा विगत एक वर्षमा एक हजार ३८६ क्षयरोगीका बिरामी पत्ता लागेका छन् । त्यसमध्ये जटिलखालका डिआर टिबीका बिरामी ४२ जना अर्थात् ११ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठ रोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिनुभयो ।

रुपन्देहीमा क्षयरोगीको उपचारलाई सर्वसुलभ बनाउन चालु आर्थिक वर्षमा ८० वटा उपचार केन्द्र, २२ वटा रोग निदान केन्द्र, २० वटा शहरी उपचार केन्द्र तथा उपकेन्द्र, एक वटा डिआर टिबी निदान केन्द्र, एक जिन एक्सपोर्ट केन्द्र, दुई डिआर टिबी उपचार केन्द्र र एक वटा डिआर टिबी आवासगृह रहेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लामा बिरामी केन्द्रित सुविधासमेत सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा क्षयरोग निदानका लागि खकार निःशुल्क जाँच, कल्चर तथा जेन एक्सपोर्ट जाँच निःशुल्क, डट्स सेन्टरबाट औषधि निःशुल्क, डिआर क्षयरोगको उपचारका लागि निःशुल्क आवास र पुनःउपचार तथा डिआर बिरामीका लागि मासिक पोषण खर्चको व्यवस्था गरिएको छ ।

कार्यक्रममा वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलले सरकारले क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर जनतालाई सेवा उपलब्ध गराएको बताउँदै यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुन जरुरी छ भन्नुभयो ।

यो रोगसँग लड्न बेलैमा रोगको निदान र नियमित औषधि सेवन गरेमा अन्यमा सर्ने खतरा निकै कम हुने उहाँले बताउनुभयो । भरत केसी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts