लमजुङ (बँेसीसहर), २५ फागुन । गुरुङ संस्कृतिमा आधारित रोधी महोत्सव बँेसीसहरमा सुरु भएको छ ।
लोप हुन लागेको संस्कृति संरक्षणका लागि जिल्लामै पहिलो पटक रोधी महोत्सव आयोजना गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद् लमजुङको सहआयोजनामा महोत्सव भएको हो ।
प्रतिष्ठानका प्राज्ञ पुष्कर गुरुङको अध्यक्षता एवम् तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा महोत्सव सुरु भएको छ ।
आज महोत्सव उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गुरुङले तमुको पहिचान र संस्कृति जोगाउन गुरुङ समुदाय एक हुनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय लोप हुँदै गइरहेको रोधी संस्कृतिलाई जगेर्ना गर्न महोत्सव नै आयोजना गरिएको तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष ठाकुर गुरुङले बताउनुभयो । महोत्सवमा जिल्लाका विभिन्न गाउँका गुरुङ समुदायमा प्रचलित संस्कृति प्रस्तुत गरिएका छन् ।
बिहीबारसम्म हुने महोत्सवमा तान्त्रिक शक्तिमा आधारित कुसुण्डा घाटु, बाह्रमासे घाटु, सति घाटु, सोरठी, चरित्र, झाम्रे, चुड्का÷कौरा, महायानी लाम नृत्य, बोन्पो लामा नृत्यलगायत गुरुङ संस्कृतिमा आधारित विभिन्न नृत्य प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
रोधीसँगै राष्ट्रिय चर्चित कलाकार कृष्ण गुरुङ, टीकादेवी गुरुङ, भीमकला गुरुङ, सुशीला थापालगायत चुड्का÷कौरा, भेडी खर्के साइला, देवी गुरुङ र बुद्धिबहादुर दुरा समूहका चर्चित ठाडो भाकाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment