काठमाडौँ, २० फागुन । नेपालको सामाजिक–आार्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै भारतका वित्तमन्त्री अरुण जेट्ली नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश प्रस्थान गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको निमन्त्रणामा नेपाल लगानी सम्मेलनमा प्रमुख वक्ताका रुपमा सहभागी हुन मन्त्री जेट्ली बिहीबार अपराह्न राजधानी आउनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।
उपप्रधानमन्त्री महरा र मन्त्री जोशीसँग भारतका वित्तमन्त्रीले द्विपक्षीय चासो र आपसी हितका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।
उहाँले राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा वरिष्ठ मन्त्रीहरूसँगको भेटवार्तामा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै भौतिक पूर्वाधार निर्माणमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन भारत सरकार तयार रहेको जानकारी दिनुभएको थियो ।
भारतसँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात प्रवद्र्धन गर्ने उद्योगधन्दा स्थापनामा जोड दिँदै उहाँले चाँडोभन्दा चाँडो माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना शीघ्र पूरा हुनसकेमा बिजुली निर्यातले पनि त्यसलाई भरथेग गर्ने बताउनुभएको थियो ।
भारतका वित्तमन्त्रीले ती जलविद्युत् आयोजना कार्यान्वयनमा वन क्षेत्र र जग्गा प्राप्ति जटिल समस्या बनेकाले तिनको समाधान पनि शीघ्रातिशीघ्र हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, उद्योग मन्त्रालयका सचिव शङ्कर कोइराला, यहाँस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार र नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्रीले बिदाइ गर्नुभएको थियो । रासस
No comments:
Post a Comment