Monday, March 20, 2017

निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौँ, ७ चैत । नेकपा (एमाले) को आजको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिप्रति सजग रहनुपर्ने भन्दै निर्वाचन आयोगलाई तयारी तीव्र बनाउन पनि आग्रह गरेको छ ।

एमालेले कार्यकर्ताहरुलाई तयारीमा लाग्न आन्तरिक तयारी पनि प्रारम्भ गर्ने सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिता विपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढङ्गले कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गर्ने जस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्र्षण भएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा विपक्षी नौ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय पनि गरेको छ ।

सांसद् दुलारी देवी सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकामा शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts