Saturday, March 18, 2017

इन्द्रावतीलाई मेलम्ची दोस्रो, तेस्रोबाट असर

चौतारा, ५ चैत । सिन्धुपाल्चोकको पश्चिमी भेगको ज्यामिरेमा सञ्चालित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित हुने भएको छ ।

हेलम्बुको अम्बाथान मुहानबाट दैनिक १७ करोड लिटर पानी लगिने प्रथम चरणबाट कुनै असर नपुगे पनि दोस्रो र तेस्रो चरणको लार्के र याङ्ग्रीबाट लगिने दैनिक ३४ करोड लिटर पानी इन्द्रावती नदीमा कम हुने भएपछि सो आयोजनालाई प्रत्यक्ष असर पुग्ने भएको हो ।

“वर्षको सात÷आठ महिना आयोजनालाई असर नपरे पनि सुक्खायामको तीन÷चार महिना उत्पादन बन्द नै त हुँदैन तर निकै असर पुग्ने कुरा भने निश्चित छ,”– इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाका अध्यक्ष कुमार पाण्डेले भन्नुभयो – “हामीले सुरुमै जानकारी पाएर पनि सो कुरालाई स्वीकार गरेरै लाइसेन्स लिएका थियाँै ।”

आयोजनाका दुई युनिटमध्ये हाल एक युनिट मात्र सञ्चालनमा आएको छ । मङ्सिर पुसमा ३.५ देखि ३.८ मे.वा सम्म उत्पादन हुँदै आएपनि सुक्खा याममा २.५ मे.वा मात्र विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रमुख मोनालोकले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार दोस्रो र तेस्रो चरणको डिजाइनको काम सुरु गरिएको र सो काम सम्पन्न भएपछि मन्त्रालयमा पेस गरिनेछ । बजेट व्यवस्था भएपछि चाँडै नै काम सुरु गरिने र त्यसबाट जलविद्युत् आयोजनालाई असर पुग्ने या नपुग्ने हाम्रो चासो नभएकाले उहाँहरुले सुरुमा नै सोच्नुपर्ने बताउनुभयो ।

उक्त जलविद्युत् आयोजनाका पूर्वसंस्थापक एवम् जलस्रोत विज्ञ कृष्णप्रसाद भण्डारी लार्के र याङ्ग्री मुहान जिल्लावासीलाई असर पु¥याउने गरी राजधानी पठाउन नहुने मान्यता राख्नुहुन्छ ।

निजी क्षेत्रबाट विसं २०५४ मा सुरु भई विसं २०५९ देखि व्यापारिक उत्पादन हुँदै आएको सो आयोजनाको पानीको मुख्य स्रोत इन्द्रावती नदी भएकोमा सो नदीको माथिल्लो भागबाट लार्के र याङ्ग्री खोला मिसिन गएको छ । खिम्ती र भोटेकोसीसँगै सो आयोजनामा पनि अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts