Saturday, April 1, 2017

मतदाता नामावली आइतबारदेखि मुद्रण हुने

काठमाडौँ, १९ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मतदाता नामावली मुद्रण गर्ने भएको छ ।

निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सो कुराको जानकारी दिनुभएको हो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ४० लाख मतदाताको नाम सङ्कलन भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीको सूची आगामी वैशाख १० गतेभित्र सबै जिल्लामा पु¥याइसक्ने गरी आयोगले काम गर्ने जनाइएको छ ।

त्यस्तै, अबको एक दुईदिनभित्रै स्थानीय निकायको निर्वाचनमा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृत नियुक्त हुने जनाइएको छ ।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो – “आयोग निर्वाचनको पूर्ण तयारीमा जुटेको छ । जनशक्ति सुरक्षाको व्यवस्थापन गर्ने, आवश्यक सामग्री जुटाउने र तालिम प्रशिक्षण दिने काम आयोगले गर्दैछ ।”

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग पु¥याउन सबै पक्षसँग आग्रह गर्दै उहाँले निर्वाचनको सन्दर्भमा अहिले ज्यादै उत्साहजनक वातावरण बनेको बताउनुभयो ।

आयुक्त सुधीरकुमार शाहले आगामी निर्वाचनमा मतदाता, उम्मेदवार, खटिने कर्मचारी र मतगणनास्थलसम्मका लागि कम्तीमा पनि सुरक्षाको मनोवैज्ञानिक वातावरण तयार गर्न सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलाई निर्देशन दिनुभयो ।

स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको समेत उच्च मनोबल देखिएको बताउँदै उहाँले राजनीतिक दलहरुबीचको सहमतिको गाँठो नफुके पनि तोकिएको मितिमा एकैदिन एकै चरणमा मतदान गराएर आयोग आफ्नो विश्वसनीयता कायम राख्न सक्षम हुने दाबी गर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रशिक्षणबाट सुरक्षा संयन्त्रबीचमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले निर्वाचनका बेला सुरक्षामा खटिने सुरक्षाकर्मीबीच आपसी समन्वय कायम गर्न प्रशिक्षणबाट ठूलो योगदान मिल्ने धारणा व्यक्त गर्नुभयो ।

आयोगका सहसचिव नवराज ढकालले स्थानीय निकायको निर्वाचनसँग जोडेर आयोगले निर्वाचन–सञ्चार, मतदाता प्रशिक्षण, जिन्सी व्यवस्थापन, निर्वाचन र सुरक्षाजस्ता केन्द्रीयस्तरका प्रशिक्षण सम्पन्न गरिसकेको बताउनुभयो ।

निर्वाचनका लागि कुल एक लाख २६ हजार कर्मचारी र मतदाता शिक्षाका लागि २१ हजार स्वयम्सेवी खटाउने आयोगको योजना छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts