Friday, April 14, 2017

रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्छ – राष्ट्रपति

विराटनगर, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण संस्थामा रोजगारमूलक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ बढी अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको आज उद्घाटन गर्दै उहाँले शिक्षा क्षेत्रमा राज्यको लगानीको दायरा फराकिलो भए पनि अपेक्षित गुणस्तरीय नतिजा हासिल हुन नसकेको अवस्थामा सामुदायिक विद्यालयका रुपमा सो क्याम्पसले गरेको प्रगतिबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यस क्षेत्रको जलाधार संरक्षण गरेमा वातावरण प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिले भन्नुभयो, “अव्यवस्थित बसोबासका कारण उर्वर भूमिको दोहन भइरहेकाले मानव सभ्यताअनुकूल वैज्ञानिक ढङ्गको गुणस्तरीय जीवन हुने आवासको व्यवस्था हुनुपर्छ ।”

उहाँले चिया, अलैंची, अदुवा, दूध र अम्रिसो उत्पादन वृद्धिका लागि आधुनिक ढङ्गले खेती गर्नुपर्ने सुझाव दिँदै हुलाकी सडकको निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्काे प्रसङ्गमा राष्ट्रपति भण्डारीले भन्नुभयो, “स्थानीय तहलाई धेरै बढी अधिकार प्रदान गरिएकाले सो अधिकार प्राप्त गर्न सबैले भयरहित वातावरणमा मतदान गर्नुपर्छ ।”

कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्ध पार्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा जसरी पनि निर्वाचन गराई शान्ति र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने बताउनुभयो ।

क्याम्पसका सञ्चालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के तथा क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसको प्रतिबारे प्रकाश पार्नुभएको थियो । सो क्याम्पसले पूर्वाञ्चल क्षेत्रमा हिमाल, पहाड र तराईका विभिन्न भाषाभाषीलाई सुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts