Friday, April 14, 2017

नेपाल टेलिभिजनको कोहलपुर केन्द्रबाट नियमित प्रसारण सुरु

कोहलपुर, (बाँके) १ वैशाख । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको नियमित प्रसारण आजबाट सुरु भएको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले एक समारोहबीच नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मन्त्री कार्कीले नेपाल टेलिभिजनले निजी स्तरबाट चलेका टेलिभिजनसँग प्रतिस्पर्धा नगरी समाजमा रहेका कुरीति, कुसंस्कारकाविरुद्ध र सकारात्मक समाचार प्रशारणतर्फ टेलिभिजनको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कोहलपुरमा आजबाट नियमित प्रसारण गरेको टेलिभिजनले यस क्षेत्रको धर्म, संस्कति, रीतिरिवाज र परम्परालाई समेटेर समाचार तथा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री कार्कीले भन्नुभयो, “नेपाल टेलिभिजनका साथीहरु तपाइँहरु छाउपडी प्रथाविरुद्धका समाचार २० दिनसम्म बजाउनुहोस्, त्यस्ता समाचार ,सामग्री निजी टेलिभिजनने बजाउँदैनन् बजाए भने ती दुई महिनामै बन्द हुन्छन् । त्यसैले निजी टेलिभिजनले गर्न नसक्ने कार्य नेपाल टेलिभिजनले गर्नुपर्छ ।”
अल्छी आमाले छोराछोरीलाई खाजामा चाउचाउ दिने तर असल आमाले छोराछोरीलाई लिटो खुवाउने कुराको उदाहरण दिँदै सञ्चारमन्त्री कार्कीले नेपाल टेलिभिजन असल आमा रहेकाले चाउचाउको सट्टा लिटो खुवाउँदै आइरहेको उल्लेख गर्नुभयो ।

कर्णालीका ग्रामीण क्षेत्रमा गएर जनताका विचार, समस्या र सकारात्मक कुराहरुसँगै कृषिका विषयहरुलाई कोहलपुर प्रसारण केन्द्रले खोजेर प्रशारण गर्न मन्त्री कार्कीले आग्रह गर्नुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले १२÷१३ वर्षसम्म बन्द भएको कोहलपुर टेलिभिजनलाई पुनः नियमित प्रशारण गर्न पाउँदा हर्षित भएको भन्दै यसको प्रसारणमा स्थानीयवासीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
लामो प्रयासपश्चात गत माघ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रमै नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको परीक्षण प्रशारणको उद्घाटन गर्नुभएको थियो भने आजबाट नियमित प्रशारण सुरु भएको हो ।

२०५२ सालबाट क्षेत्रीय प्रसारणका रुपमा सञ्चालन भएको कोहलपुर प्रसारण केन्द्र सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही नेकपा (माओवादी)को आक्रमणबाट २०६१ साल चैत १३ गतेबाट बन्द रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts