Saturday, April 1, 2017

संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य

भक्तपुर, १९ चैत । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले यसलाई सफल पार्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

आज सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरुटार इङ्लिस सेकेन्डरी स्कुलको १७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न सबै दलले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो ।

आन्दोलनरत मधेसी मोर्चातर्फ सङ्केत गर्दै उहाँले प्रदेश र संसद्को चुनावलाई स्थानीय चुनावसँग जोडेर हेर्न नहुने कुरा औँल्याउँदै उहाँले भन्नुभयो – ‘‘आफ्नो ठाउँ आफैँले बनाउने, स्थानीय तहको खम्बाका रुपमा रहेको निर्वाचन हो, यो निर्वाचनले दूरदराजका जनतालाई समस्या बोकेर सिंहदरबार धाउनुपर्ने समस्याबाट मुक्त गर्छ, आफ्नो समस्या आफ्नै गाउँमा हल गर्न सहज हुन्छ, त्यसैले यो चुनावलाई प्रदेश र संसद्को चुनावसँग जोडेर हेर्न हुँदैन ।”

सरकारमा आन्दोलनरत पक्षसँग छलफलमा लागिरहेका बेलामा सरकार र दलहरुले साझा मिलनबिन्दु खोज्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “आन्दोलनरत पक्षसँग छलफल गरी मतमतान्तरको मिलनबिन्दु खोज्न दलहरु चुक्नु हुँदैन, कुनै न कुनै मिलनबिन्दु खोज्नुपर्छ ।”

रेग्मीले आफ्नो कुरामात्रै भन्ने तर अरुको कुरा सुन्ने र बुझ्ने प्रयास नगर्ने प्रवृत्ति त्याग्नु पर्ने औँल्याउँदै उहाँले व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्र र जनतालाई सर्वोपरी ठानेर अगाडि बढे सहमतिको बिन्दु भेटिने बताउनुभयो ।

शिक्षा ऐनलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले देशप्रति बफादार, अनुशासित, इमान्दार जनशक्ति बनाउने शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई अभिनन्दन पनि गरिएको थियो । त्यस अवसरमा डा प्रकाश विष्टलाई सम्मान गरिएको थियो ।

विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षकलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा विद्यालयका अध्यक्ष डा प्रकाश कायस्थ, संस्थापक निर्देशक ईश्वरबहादुर श्रेष्ठ, संस्थापक प्राचार्य रमन कायस्थलगायतले देशका लागि आवश्यक असल र दक्ष जनशक्ति उत्पादनमा विद्यालय तल्लिन रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts