Tuesday, April 25, 2017

रातको समयमा पखालिँदै काठमाडौँका सडक

काठमाडौँ, १३ वैशाख । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।

गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।

“सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नैपर्छ”, कार्यकारी अधिकृत पौडेलले भन्नुभयो, “सडक पखाल्ने काम थालेका छौँ, यसको प्रभाव हेरेर नागरिक जीवनको सहजताका लागि अन्य काम गर्छौँ ।”

काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ ।

धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ ।

यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले सहरी जीवनलाई सकसपूर्ण बनाएको छ ।

काम थालेको पहिलो दिन पुतलीसडक कमलादी मोडबाट शङ्करदेव क्याम्पस प्रवेश गर्ने चोकसम्मको सडकको बीच भाग, पैदल मार्ग र छेउछाउमा भएका, बार, बिजुलीका पोलमा रहेको धुलो पखालिएको थियो । दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts