काठमाडौँ, ३० चैत । स्थानीय तह निर्वाचनमा महिला, दलित र अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण सहभागिताका लागि ‘महिला, दलित र अल्पसङ्ख्यक अभियान’ २४ जिल्लामा सुरु हुने भएको छ ।
यस कार्यक्रमबाट स्थानीय तह निर्वाचनमा महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा, महिला नेतृत्व विकास, निर्वाचन प्रक्रियाको विभिन्न भूमिका रहेर कार्य गर्न सहयोग पुग्ने छ ।
निर्वाचन आयोगको स्वीकृतिमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गतको निर्वाचन सहयोग परियोजनाले कार्यक्रम सञ्चालन गर्नेछ । अभियानका लागि आजदेखि २४ जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण दिन सुरु गरिएको छ । उहाँहरुले जिल्ला हुँदै वडास्तरसम्म पुगेर अरु ६०० जनालाई प्रशिक्षण दिनेछन् ।
अभियान सञ्चालन गर्न लागिएका जिल्लामा सिराहा, उदयपुर, बाँके, रोल्पा, रुकुम, प्यूठान, कपिलवस्तु, दाङ, जुम्ला, दैलेख, कालीकोट, तेह्रथुम, झापा, मोरङ, सुनसरी, डडेल्धुरा, बर्दिया, कैलाली, बैतडी, सर्लाही, महोत्तरी, नवलपरासी, पर्वत, बागलुङ छन् ।
आयोगका सहसचिव दीपक सुवेदीले महिलाको सहभागिताका लागि आयोगले नीतिगत र संरचनागत व्यवस्था गरेको बताउनुभयो । स्थानीय तहको निर्वाचन विगतका निर्वाचनभन्दा सबै हिसाबले फरक रहेकाले मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगले ध्यान केन्द्रित गरेको छ भन्नुभयो ।रासस
No related posts.
No comments:
Post a Comment