Friday, April 14, 2017

नेपाली भाषाको मानक:पाठ्यपुस्तकमा अर्काे वर्ष मात्र सुधार

काठमाडौँ, १ वैशाख । विद्यालय तहमा प्रयुक्त नेपाली भाषाको अमानक मानिएको वर्णविन्यास खारेजीको निर्णय कार्यान्वयन सुरु भए पनि पाठ्यपुस्तकमा भने अर्काे शैक्षिक सत्रदेखि मात्र परिमार्जन हुने भएको छ ।

पाठ्यक्रम र पाठ्यपुस्तक यसअघि नै उत्पादन भई वितरण सुरु भइसकेकाले अर्काे शैक्षिक सत्रमा पाठ्यक्रम विकास केन्द्रको परिमार्जन र संशोधनको चक्रबमोजिम सो निर्णय पूर्णतः कार्यान्वयन हुने शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताउनुभयो ।

उहाँले पाठ्यक्रममा परिवर्तन गर्न तत्काल सम्भव नहुने स्थितिमा विद्यालय र सम्बन्धित शिक्षकलाई पत्र पठाएर वर्णविन्यासका सम्बन्धमा प्राज्ञिक संस्था र भाषाका अभियन्ताको सुझावअनुसार मानक कायम हुने गरी शिक्षण गराउन आग्रह गरिने बताउनुभयो ।

शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत चैत २९ को ६५ औँ बैठकले केन्द्रबाट प्रकाशित प्रकाशन शैली, २०७० बारे नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्ले गत कात्तिक ३० गते गरेको निर्णयबमोजिम परिमार्जन गर्नुपर्ने क्षेत्र पहिचान गर्न विषय विज्ञ र विश्वविद्यालयका प्रतिनिधिको सिफारिसअनुसार मानक भाषा कायम राख्ने निर्णय गरेको थियो ।

नेपाली मौलिक भाषालाई ध्वस्त बनाउने प्रकारको वर्णविन्यास लागू गरिएको भन्दै भाषा बचाउका अभियन्ताले आन्दोलन गरेपछि सरकारले त्यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै मन्त्रालयले २०६७ मा गरेको भाषाको नयाँ वर्णविन्यास खारेज भएको छ ।

परिषद्को निर्णयमा सुधार भएका क्षेत्रमा ‘फुल, फूल, पुरा, पूरा, जुन, जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दको हिज्जे प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशमा प्रविष्टि भएअनुसार लेख्ने’ उल्लेख छ ।

यस्तै ‘जात, थर बुझाउने पहिचानसँग जोडिएका शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने जस्तै ःअधिकारी, राई, कामी, क्षत्री, भट्टराई, बजगाई, पुजारी, डकर्मी, धोबी, तेली, हिन्दू, लिम्बू, थारु, ज्यापू आदि तर जातले प्रचलनमा ल्याएका सायमि जस्ता प्रयोगलाई यथावत् रूपमा लेख्ने’ निर्णयमा छ । एकार्थी स्थान, नाम दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने र एकार्थी लघु रूपमा रहेका समस्त शब्द पदयोग गरेर लेख्ने परिषद्को निर्णय छ । जस्तै ः भक्तपुर, ललितपुर, विश्वविद्यालय ।

निर्णयमा ‘दुई शब्दबाट बनेका एकार्थी शब्दलाई पदयोग गरेर लेख्ने, जस्तै ः शुभकामना, प्रधानमन्त्री, शुभयात्रा आदि ।’ भनिएको छ । ‘द’ वर्णसँग जोडिएर आउने शब्दलाई संयुक्त ब्यञ्जनअनुसार र अन्य संयुक्त ब्यञ्जनलाई नेपाली बृहत् शब्दकोश, २०६७ अनुसार लेख्न पनि निर्देशन दिइएको छ । यी निर्णयमा नसमेटिएका विषय क्षेत्रमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोशअनुसार गर्ने मन्त्रालयको निर्णय छ ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले विगत लामो समयदेखि नेपाली भाषामा जबर्जस्ती लादिएको अव्यवस्था र अराजकताका विरुद्ध आफूहरुको दबाबस्वरुप मन्त्रालयले सो निर्णय गरेकामा स्वागत गर्नुभयो ।

यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) तथा त्रिभुवन विश्वविद्यालय नेपाली विषय समितिले अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गरिसकेको थियो भने साझा प्रकाशनले ती निकायका निर्णय पालना गर्ने सहमति दिएको थियो ।

भाषा बचाऊ अभियानका सहसंयोजक मेदिनीकुमार केवलले विसं २०४० मा मानकलाई कायम गरिएको नेपाली भाषामा ल्याइएको विवाद अन्त्य भएकाले अब यसको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पहिचानलाई कमजोर बनाउन बाह्य प्रभावमा त्यस्ता विवाद ल्याइएका थिए तर नेपालको इतिहास, भाषा र संस्कृतिलाई मेटाउने त्यो प्रयास असफल भएको छ ।” प्रकाश सिलवाल/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts