कञ्चनपुर, १५ वैशाख । स्थानीय तहको निर्वाचनपछि बन्ने नीतिमा कञ्चनपुरमा बसोबास गर्दै आएका राजी समुदायले अधिकार स्थापित गर्न माग गरेका छन् ।
लोपोन्मुख जातिमा सूचीकृत राजी समुदायले जडीबुटी सङ्कलन गर्ने, सिकार गर्ने, कन्दमूल खोज्ने, माछा मार्नेलगायतको परम्परागत पेसा जोगाउनका लागि अधिकारको माग अघि सारेका हुन् । जडीबुटी सङ्कलन गरी गाउँ गाउँमा घुमेर बिक्री गरिआएको पैसाले जीवन निर्वाह गर्दै आएका राजी समुदायका व्यक्ति हाल पेसाबाट पलायन भएपछि मजदुरी गरेर घर खर्च चलाउँदै आएका छन् ।
राष्ट्रिय वन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सामुदायिक वनले जडीबुटी सङ्कलनमा रोक लगाएपछि पुर्खौंदेखिको परम्परागत पेसा खोसिएको छ, राजी समुदायका अगुवा बासमती राजीले भन्नुभयो, “वनमा जडीबुटी सङ्कलन गर्न नै नपाइएपछि अन्य पेसा अपनाएर जीवन धान्न थालेका छौँ ।” स्थानीय तहको निर्वाचनपछि निर्वाचित हुने पदाधिकारीले अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।
राजी बहुल रहेका क्षेत्रमा समुदायका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवारका रुपमा अगाडि सारी हकअधिकार स्थापित गर्न सघाउ पु¥याउनुपर्ने उहाँले बताउनुभयो । “राजी समुदायका व्यक्ति विभिन्न रोगका लागि आवश्यक पर्ने जडीबुटीबारे जानकार भएकाले परम्परागत ज्ञानको जगेर्ना गर्नका लागि स्थानीय तहमा बन्ने नीतिमा यसको संरक्षणका लागि योजना बनाइनुपर्छ”, अमर राजीले भन्नुभयो ।
“समुदायका व्यक्ति बिरामी परे वन क्षेत्रबाट जडीबुटी खोजेर ल्याई यसबाटै उपचार गरी निको हुन्थे, अस्पतालको मुखै देखेका थिएनन्”, उहाँले भन्नुभयो, “हाल जडीबुटी सङ्कलनमै रोक लगाइएपछि अस्पतालसम्म पुग्न थालेका छौँ ।”
“साबिक देखतभूली गाविस र कृष्णपुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने परम्परागतकालदेखि माछा मार्दै आएको गडविजला तालको संरक्षणसहितको स्वामित्व राजी समुदायलाई दिइनुपर्छ भनेर माग ग¥यौँ”, दिनदयाल राजीले भन्नुभयो, “जिविसले ठेक्का लगाउने भएकाले दिनै मानेनन् ।” स्थानीय तहको निर्वाचनपछि अधिकार स्थापित हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।
वन, प्राकृतिक तालतलैया र नदीमा माछा मार्न नपाएपछि मौलिक अधिकार खोसिएको उहाँको भनाइ छ । राजी समुदायका व्यक्तिलाई आधुनिक जडीबुटी सङ्कलन गर्ने, प्रशोधन गर्ने र औषधि तयार गर्ने तालिम दिएर स्वरोजगार बनाउनका लागि स्थानीय तहले नीति तर्जुमा गर्नुपर्ने नरेश राजीले बताउनुभयो ।
प्रकृति पूजामा विश्वास गर्ने राजी समुदायले सालको रूखलाई देवता मानेर पूजा गर्ने चलनसमेत बिस्तारै हराउँदै गएको छ । वन नजिक र खोला नदी किनारामा बस्दै आएका राजी समुदायको अन्य समुदायसँगको देखासिखीमै परम्परागत प्रकृति पूजासमेत छाड्दै जान थालेका छन् । परम्परागत ढकिया बुन्ने, डोरीको खाट बनाउने, परम्परागत आफ्नै मौलिकताका घर निर्माण गर्ने, माछा मार्ने, जाल बुन्नेलगायतका परम्परागत सीपसमेत ओझेलमा परेका छन् ।
यहाँ बसोबास गर्दै आएका राजी समुदाय सुर्खेत आफ्नो थातथलो भएको बताउँछन् । राजी समुदायको विवाह र संस्कृतिसमेत अन्य समुदायभन्दा भिन्नै भएपनि अन्य समुदायको संस्कृतिको प्रवेशले हराउँदै गएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–५ र कृष्णपुर नगरपालिका–४ र ५ मा बस्दै आएका २३ घरधुरीका एकसय दुईजना राजी समुदायका व्यक्तिमा प्रवेशिका परीक्षा पास गरेका एकजना समेत रहेका छैनन् ।
अन्य समुदायका व्यक्तिका बालबालिका विद्यालय पढेको देख्दा विद्यालय पठाउन त मन लाग्छ, बासमतीले भन्नुभयो, “विद्यालयले शुल्क लिने हुँदा आर्थिक अभावले बालबालिकालाई आधारभूत तहभन्दा माथि पढाउन सकेका छैनौँ ।”
राजनीति र रोजगारीका क्षेत्रमा संलग्नता बढाउनमा सबैको हातेमालो आवश्यक रहेको राजी अगुवाको भनाइ रहेको छ । यहाँ हाल राजी समुदायको मुक्तकमैया बस्तीमा र जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास रहेको छ । रासस
––––––
No related posts.
No comments:
Post a Comment