भक्तपुर, २२ चैत । पत्रकार एवम् साहित्यकार विके पाल्पाली गम्भीर बिरामी भई भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचारका लागि भर्ना हुनुभएको छ ।
सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पाल्पालीको श्रीमती रेणुका भट्टराईले चार वर्षअघि दुवै मिर्गौला खराब भई नियमित उपचार गराइरहनु भएका पाल्पालीको मिर्गौलामा पुनः समस्या देखिए पछि उपचारका लागि केन्द्रमा भर्ना हुनुभएको बताउनुभयो ।
चार वर्षअघि नेपाल पत्रकार महासङ्घ, पाल्पाली बचाउ अभियान र विभिन्न सहयोगी दाताबाट सङ्कलन भएको रु २२ लाखले भारतको मेदान्त अस्पतालदेखि हालसम्म उपचार गराइरहनु भए पनि अहिले फेरि दुवै मिर्गौलामा समस्या आएको उहाँले बताउनुभयोे ।
चिकित्सकले जतिसक्दो छिटो पाल्पालीको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको तर मिर्गौलासमेत दान गर्ने मानिस नपाएपछि थप समस्यामा परेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो– “मैले मिर्गौला दिन खोजेको थिएँ तर म आफैँ सुगरको बिरामी भएकाले डाक्टरले मेरो मिर्गाैला दिन नमिल्ने बताउनुभयो, अहिले हामी मिर्गौला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताको खोजीमा छाँै ।”
उहाँले पत्रकार एवम् साहित्यकार पाल्पाली बचाउन आग्रह गर्दै पाल्पालीको उपचारमा आर्थिक समस्या आएकाले मिर्गौला र आर्थिक सहयोग गरिदिन दातासँग आग्रह गर्नुभयो ।
अस्पतालको श्ययाबाटै पाल्पालीले भन्नुभयो– “चार वर्षअघि सबैको सहयोगले म बाँचे, त्यही रकमले अहिलेसम्म उपचार गराइरहेको छु, फेरि पनि म उपचारमा अस्पतालको श्यया मै छु, मलाई सहयोग गरिदिन सबैमा आग्रह गर्छु ।”
चार वर्षअघि उपचार गरी घरमा बिरामी अवस्थामा पाल्पालीले रचना गरेको धरणी महाकाव्य कृतिका रुपमा हालै बजारमा आएको छ । रासस
No comments:
Post a Comment