Wednesday, May 31, 2017

निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

भोजपुर, १८ जेठ । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, आफ्ना कार्यकर्ता पकाउ परेपछि नेपाल कम्युनिस्ट पार्टीले बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति निकालेको छ । रासस
––––––

तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित

महोत्तरी, १८ जेठ । महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् । बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने बाढीले जनधनको क्षति हुने डरले रातभरि नै जाग्राम बस्दै आएका स्थानीयवासी आजभोलि सुरक्षित महसुस गर्दै निर्धक्क भई रात बिताउन पाएका छन् ।

करिब ३ वर्षअगाडि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जिइएफको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमपात विस्फोटन जोखिम न्यूनीकरण आयोजनाअन्तर्गत सरपल्लोको छेउबाट बग्ने रातु र जङ्घा नदीमा निर्माण गरिएको तटबन्धले करिब ५०० घरपरिवार सुरक्षित भएका छन् ।

हालसम्म रु दुई करोडभन्दा बढी रकम खर्चिएर सो क्षेत्रमा बसोबास गर्नेलाई बर्खायाममा सुरक्षित बनाउन सफल भएका छन् त्यस क्षेत्रमा तटबन्धनसँगै जिल्ला वन कार्यालयले गरेको वृक्षारोपणले तटबन्धनमा थप मद्दत पुगेको छ ।

बर्सेनि बर्खायाममा अतिजोखिम क्षेत्रमा रहेको सरपल्लोवासीलाई सम्भावित बाढीको खतराबाट बच्न अपनाउन सकिने तरिकासमेत सिकाइएको र बाढीबाट बच्न प्रयोग हुने साधनसमेत हस्तान्तरण गरिएको युएनडिपी र जिइएफका जिल्ला आयोजना अधिकृत दिनेशकुमार साहले बताउनुभयो । उहाँले सरपल्लोमै सेल्टर निर्माण गरिएकाले बाढीको खतरा न्यून गर्न मद्दत पुगेको अधिकृत साहले जानकारी दिनुभयो ।

तटबन्धनसँगै नदीमा बाढी आउने खतरा मापन गरी साइरन बज्ने प्रविधिको प्रयोग गरिएकाले बर्दिवासको कालापानीमै नदीको जलस्तर बढे विभिन्न तीन किसिमको बत्ती र साइरनले खतराको सङ्केत गर्ने आयोजना अधिकृत साहले बताउनुभयो । उहाँले बर्दिवासमै जलस्तर वृद्धि भए सरपल्लोमा समेत जानकारी आउने र सम्भावित खतराको सामना गर्न पर्याप्त समय हुने बताउनुभयो । उहाँले सरपल्लोमै सेल्टरसमेत निर्माण गरिएको बताउनुभयो ।

पाँच वर्षअगाडि बर्सातको मौसममा घर नै बग्ने डरले रातिको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहँदै आएको स्थानीयवासी मनतोरिया देवीले बताइन् । रातु र जङ्घा नदीको सङ्गम रहेको सरपल्लो गाउँ नै हरेक वर्ष डुबानमा परी घरपालुवा जीवजन्तु, खेतबारी र घर नै बग्ने डरले बर्खायाममा हुँदै आएको डर तटबन्ध निर्माणले अन्त्य भएको स्थानीयवासी रामचन्द्र महतोले बताउनुभयो ।

नदीको दुवै छेउमा तारको जालीभित्र ढुङ्गा हालेर तटबन्ध निर्माण भएसँगै सो स्थानमा स्थानीयवासीले धमाधम पक्की घर पनि निर्माण गर्दै आएका छन् । रासस
––––––––

मन्त्रीको निर्देशन अवज्ञा, ट्रायल सेन्टर नहुँदा सास्ती

महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध

फलेवास (पर्वत), १८ जेठ । पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ ।

बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले)को प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक रहनुभएको छ । त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना रहेका छन् ।

उनीहरुलाई बुधबार नै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराउनुभएको थियो । उक्त गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली काँग्रेसका रहेका छन् । पर्वतका अन्य स्थानीय तहका कार्यपालिकाका लागि आज दिउँसो निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ । रासस
––––––––

विराटनगर पुनः महानगरपालिका भयो

विराटनगर, १८ जेठ । सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन् ।

सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन् । असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले महानगरपालिका घोषणा गरेको लगत्तै सर्वोच्चमा रिट परेपछि विराटनगर पुनः उपमहानगरपालिकामा झरेको थियो ।

महानगरपालिका बनेको खुसीमा स्थानीयवासीले दीपावलीसमेत मनाएका थिए । चार दिनपछि पुनः उपमहानगरपालिकामा झरेपछि स्थानीयवासी उदासीन भएका थिए । सरकारले विराटनगरको सिमाना हेरफेर गरी भाथिगन्ज र टङ्कीसिनुबारीलाई थपेर वडाको सङ्ख्यामा वृद्धि गरेको थियो । अब विराटनगरका साविक १९ वटै वडालाई कायम राखी महानगरपालिकामा घोषणा गरिएको छ ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानुनी व्यवस्था तथा स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई बुधबारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताइएको छ । रासस
–––––––

एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

झापामा आमा–छोरी नै उपप्रमुखका उम्मेदवार

साहित्यकार शर्माको ‘चिताको काखमा’ विमोचन

बाबियाचौर (म्याग्दी), १८ जेठ । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३आँै कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ ।

बेनी नगरपालिका–६ का शर्माले ७०आँै जन्मोत्सवका अवसरमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गर्नुभएको हो ।

यो कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयवस्तुमा आधारित कविता रहेका छन् । शर्माले २०६२ साल देखि हरेक जन्मदिनमा कृति प्रकाशन गर्दै आउनुभएको छ । उहाँले यसअघि कविता सङ्ग्रह आमाको सम्झना, तस्बिरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गर्नुभएको थियो ।

यसैगरी, शर्माद्वारा लिखित कथा सङ्ग्रह यौटा कथाको कथा, गीतिकाव्य ‘खोरभित्रको स्वर’ भाग १ र २, कोख र काख (खण्डकाव्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (मुक्तक सङ्ग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अनुभूति (नियात्रा) प्रकाशन भइसकेको छ ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा सचिव सुसन परियार र अमर स्पन्दनले पनि कृतिबारे बोल्नुभएको थियो । रासस
–––––––

चुनावको मिति सारिएकोमा मुस्लिम समुदाय खुसी

नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

काठमाडौँ, १८ जेठ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो ।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहनुभएका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताउनुभयो । रासस

नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

काठमाडौँ, १८ जेठ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो ।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहनुभएका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताउनुभयो । रासस

पुनःसंरचना समितिको प्रस्ताव : सङ्घमा १८ मन्त्रालय हुनुपर्छ

काठमाडौँ, १८ जेठ । अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ ।

राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्यविस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तर्राष्ट्रिय अभ्यास र संविधानको अनुसूचीमा उल्लिखित अधिकार सूची तथा समान कार्य प्रकृतिका आधारमा सङ्घमा १८ मन्त्रालयको प्रस्ताव गरिएको उल्लेख गरिएको छ ।

हाल केन्द्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय रहेको समितिले जनाएको छ । शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्न मन्त्रिपरिषद्को सचिवालय कार्यक्षेत्र तोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राख्न पनि समितिले सिफारिस गरेको हो ।

अर्थ तथा योजना, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन तथा संस्कृति, कृषि, सहकारी र भूमि व्यवस्थापन मन्त्रालयको नामकरण र कार्यक्षेत्रसमेत खुलाएर सङ्घमा रहने मन्त्रालय विवरण समितिले तयार गरेको छ ।

सङ्घमा गृह, जलस्रोत तथा ऊर्जा, परराष्ट्र, भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन, रक्षा, शिक्षा, खेलकुद तथा विज्ञान प्रविधि, महिला समावेशीकरण तथा सामाजिक न्याय, सूचना तथा सञ्चार, स्वास्थ्य, मानव संसाधन, युवा, श्रम तथा रोजगार र वन तथा भू–संरक्षण मन्त्रालय रहनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयको नाम र कार्यक्षेत्र सिफारिस गर्दा संविधानमा उल्लिखित एकल र साझा अधिकारको सूची, कार्य विस्तृतीकरण सम्बन्धी प्रतिवेदन, कार्यविभाजन नियमावली र विद्यमान सङ्गठनात्मक संरचना, प्रशासनिक पुनःसंरचनाको सम्बन्धमा भएका अध्ययन प्रतिवेदन, परामर्श दाताको प्रतिवेदन, सम्बन्धित मन्त्रालयको सुझाव, अन्तर्राष्ट्रिय प्रचलन र असल अभ्यास तथा विज्ञ सदस्यका सुझावलाई आधार मानिएको कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले जानकारी दिनुभयो ।

मन्त्रालयको सङ्ख्या किटान गर्ने सम्बन्धमा कार्यअनुसारको सङ्गठन संरचना, सन्निकटताको सिद्धान्त र सेवा प्रवाहमा दक्षता प्रभावकारितालगायत अन्य सङ्गठन गठनका सिद्धान्तलाई अवलम्बन गरिएको जनाइएको छ ।

हाल केन्द्रमा ६ संवैधानिक निकाय, ५७ विभाग, विभागस्तरका १८ वटाका साथै क्षेत्रीय तथा अञ्चलस्तरीय, जिल्लास्तरीय, इलाकास्तरीय गरी आठ हजार ५९० कार्यालय रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुलुकमा ३७ वटा सार्वजनिक संस्थान रहेको पनि उल्लेख गरिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासनसम्बन्धी ऐनकानुन तर्जुमा गर्दा अपनाउनुपर्ने आधारभूत मार्गदर्शन, सिद्धान्त र नीतिसम्बन्धी २३ बुँदे प्रतिवेदन पनि समितिले तयार पारेको छ ।

स्थानीय तहमा कति कर्मचारी

स्थानीय तह सञ्चालनसम्बन्धी अन्तरिम व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा गाउँपालिकामा कार्यकारी अधिकृत, उपसचिव वा शाखा अधिकृतसहित नौ, गाउँपालिकाको वडामा वडासचिवका रुपमा नायब सुब्बा वा खरिदारसहित तीनजना कर्मचारीको प्रस्ताव गरिएको छ ।

नगरपालिकाको हकमा भने उपसचिवस्तरको कार्यकारी अधिकृतसहित १० जना हुनुपर्ने सुझाव प्रस्तुत गरिएको छ । नारायण न्यौपाने/रासस

चीनद्वारा उपल्लो मुस्ताङ्गीलाई निर्माण सामग्री

मुस्ताङ, १८ जेठ । छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।

चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन सिमेन्ट, ५० टन छड, ६ हजार पिस प्लाइउड, १० हजार पिस ब्याम्बू प्लाइउड, सातहजार पिस उडकिप र ११ हजार पिस जस्तापाता उपलब्ध गराएको जानकारी दिनुभयो ।

कोरला नाका हँुदै ल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए । उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताउनुभयो । रासस

अनाथ तथा टुहुरा बालबालिकालाई इद उपहार

इनरुवा, १८ जेठ । सुनसरीको भोक्राहा गाउँपालिकामा रहेको एक मुस्लिम गैरसरकारी संस्थाले बुधबार ७० टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेको छ ।

जकात फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र मिल्लत एजुकेसनल एन्ड वेलफेयर सोसाइटीको आयोजनामा अनाथ तथा टुहुरा ७० बालबालिकालाई लत्ताकपडासहितका सामग्री वितरण गरिएको हो । इस्लामनगर सुनसरीमा रहेको सोसाइटीले औपचारिक कार्यक्रमको आयोजना गरी इद गिफ्ट–२०१७ अन्तर्गत ७० बालबालिकालाई सो सामग्री उपहारस्वरुप वितरण गरेको हो ।

उक्त संस्थाले मुसलमानको महान् पर्व रमजान मनाउनका लागि सबैलाई सहज होस् भन्ने उद्देश्यले इद गिफ्ट कार्यक्रमअन्तर्गत चप्पल, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको आयोजक संस्थाका महासचिव डा खुर्सिद आलमले बताउनुभयो । मुस्लिम अरफेनेज नेपाल संस्था दर्ता गरी २०१३ देखि अनाथ बालबालिकाको शिक्षादीक्षासहितको बसोबासको बन्दोबस्ती मिलाउँदै आएको संस्थामा हाल ७० जना बालबालिका रहेका छन् ।

यसअघि रमजानको अवसरमा करिब ३०० भन्दा बढी परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । रासस

भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाइ

म्याग्दी, १८ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ ।

प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पताकाले सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको थियो ।

स्थानीय पुख्र्यौली गीत, नृत्य, पञ्चेबाजाको रमाइलो उत्सवबीच स्थानीयवासीले मङ्गलबार बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाएका हुन् । अग्ला अग्ला सिङ्गारिएका लिङ्गोलाई प्रतिस्पर्धामा ल्याएकामा यो वर्ष दुवै लिङ्गो बराबर अग्लो भएका कारण दुवै गाउँ विजयी भएको एकता युवा क्लब, दग्नामका अध्यक्ष गुन पुन ‘गुञ्जन’ले जानकारी दिनुभयो ।

गतवर्ष पनि दुवै गाउँको लिङ्गो जुधाइ बराबरी नै भएको थियो । लिङ्गो जुधाइलाई रमाइलोसँगै गाउँको प्रतिष्ठालाई जोडिएर हेर्ने भएकाले दुवै गाउँका स्थानीयवासीले निकै मिहेनत गरी अग्ला लिङ्गो सिङ्गारेर प्रतिस्पर्धामा लैजाने चलन रहेको छ ।

जेठा भूमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन वर्षभरिको खेतीबाली राम्रो होस्, बाढी, भूक्षयजस्ता प्राकृतिक प्रकोपको सृजना नहोस् भनी स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताउनुभयो ।

भूमे देवतालाई जति खुसी बनाउन सकिन्छ, त्यति नै प्रकृतिले साथ दिने भएकाले पहिलेदेखि नै गाउँमा भूमे पूजा पर्वका अवसरमा स्थानीय दुई गाउँबीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुन थालेको उहाँको भनाइ छ ।

दग्नामवासीको महत्वपूर्ण पर्व भएकाले भूमे पुजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानीयवासीसमेत घर फर्कने हुँदा यो पर्वले आफन्तको जमघट गराउने महत्वपूर्ण माध्यम बनेको स्थानीयवासी बताउँछन् ।

भूमे पूजाका अवसरमा स्थानीयवासीले एकै दिन सामे भूमे, सिद्ध भूमे, दवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरेका छन् ।

यसैबीच, मङ्गलबारदेखि एकता युवा क्लब दग्नामको आयोजनामा भूमे पूजाको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक मेलासमेत सुरु भएको छ । मेलामा पुरुष बास्केटबल, भलिबल, महिला भलिबललगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ । रासस

आधुनिकतासंगै चुनावी प्रचार शैली बदलियो

दमक, १८ जेठ । अघिल्ला चुनावहरुभन्दा यसपटकको स्थानीय तहको चुनाव फरक देखिँदै गएको छ । चुनावको प्रचारप्रसार शैली नै बदलिँदै गएको छ । झापा जिल्लाका विभिन्न नगर र गाउँमा उम्मेदवारले घरदैलोका क्रममा मतदातामाझ पुग्दा बाजागाजामा आफ्नो उम्मेदवारीबारेका गीतहरु घन्काइरहेका देखिन्छन् ।

नेपाली काँग्रेस कमल गाउँपालिकाका प्रमुखका उम्मेदवार हुकुमसिंह राई प्रचारशैलीमा निकै परिवर्तन आएको स्वीकार्नुहुन्छ । उहाँले मतदातामाझ जाँदा गाडीमा साउन्डसेट राखेर आफ्नो प्रचारका लागि बाजा बजाउँदै आएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “जमानाअनुसार चुनावी प्रचारशैली परिवर्तन गर्नैपर्छ ।” उम्मेदवार राई आफ्नो धारणा जसरी जनतामाझ लैजान सकिन्छ, त्यसरी नै हामीले आन्तरिक व्यवस्थापन गर्नु जरुरी भएको ठान्नुहुन्छ । “हिजो जस्तो चुनावी शैली थियो, त्यो अहिले सुहाउँदो हँुदैन”, उहाँले भन्नुभयो । उहाँले आफूले पनि प्यारोडी गीतमार्फत प्रचार गरिआएको बताउनुहुन्छ ।

अघिल्ला वर्षमा चुनावताका भोट माग्दा भित्ते पोस्टर टाँसेर प्रचार गरिने चलन थियो । कहीँ कसैले हस्तकलामा लेखाएर आफ्नो अभिव्यक्ति प्रकट गरिने शैली थियो, तर अहिले त्यो चलनले फड्को मारेको छ । त्यसको बदला आधुनिक पद्धतितर्फ आकर्षित हुदैँ गएको छ चुनावी प्रचार शैली १

काँग्रेसबाट दमक नगरका उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई पनि चुनावमा हुँदै आएको प्रचारप्रसार गरिने चलनले फड्को मारेको ठान्नुहुन्छ । “रेडियो, टिभी, पत्रिकासँगै गीत रेकर्ड गराएर भोटमाग्दै हिँड्ने चलन भित्रिएको छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रचारप्रसार शैलीले सहज मात्र होइन प्रभावकारीसमेत बनेको छ ।”

नेकपा ९माओवादी केन्द्र०बाट दमक नगरप्रमुखका उम्मेदवार रेवतराज पुरी ९गगन०ले पनि चुनावमा आधुनिक प्रचारप्रसार शैलीलाई प्राथमिकता दिएको स्वीकार्नुहुन्छ । उहाँले रेडियो, टिभी, पत्रिकासँगै फ्लेक्स प्रिन्टमार्फत भोट माग्ने प्रचारप्रसार शैलीमा धेरै खर्च गर्नु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसरी प्रचारप्रसार नगर्दा उम्मेदवार नै ओझेलमा पर्ने देखेको छु ।” उम्मेदवार पुरीले आधुनिक प्रविधिमार्फत आफूले भोट माग्दा त्यो शैली प्रभावकारी भएको ठान्नुहुन्छ ।

दमकस्थित सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई उम्मेदवारले जनतामाझ मत माग्न जाँदा बाजागाजासहित गीत तथा आफ्नै शब्दमा भोट माग्ने अभ्यास हुन थालेको बताउनुहुन्छ ।

स्थानीय तहको चुनावमा दलका उम्मेदवार स्वाभाविक रुपमा धेरै भएका र प्रायः उनीहरु सबैले ‘जिङगल’ तयार गरेर चुनाव प्रचारप्रसारका गतिविधिमा जाने गरेको उहाँको भनाइ छ । “अहिले दैनिक एक दर्जन जति उम्मेदवारको त्यसरी रेकर्ड गराउँदै आएको छु”, भट्टराई भन्नुहुन्छ, “चुनावी प्रचार शैली बदलिएको छ ।”

यसैगरी, दमक–५ स्थित काब्या रेकर्किड स्टुडियोमा एक महिनायता दलको प्यारोडी गीत बनाउनेको भीड लागेको सञ्चालक अशोक थापा बताउनुहुन्छ । “एक महिनादेखि अरू कुनै काम गर्न पाएका छैनौँ”, सञ्चालक थापाले चुनावका लागि दल र उनीहरुका उम्मेदवारलाई प्यारोडी गीत लेख्ने र रेकर्ड गर्नमै हामी सबै व्यस्त हुनुपरेको सुनाउनुहुन्छ । उहाँले एक महिनामा करिब ५० प्यारोडी गीत तयार पारिएको बताउनु हुँदै भन्नुभयो, “अर्डरअनुसार काम गर्न गाह्रो नहोस् भनेर टाढाका उम्मेदवारको अर्डर लिएकै छैनौँ ।”

अधिकांश उम्मेदवारले ‘गाउँ गाउँबाट उठ।।।’, ‘सुर्के थैली खै।।।’, ‘मनपर्ने एउटी साली छ।।।’, ‘मोहनी लाग्ला है।।।’, ‘झुम्के फुली नाकैमा बुलाकी।।।’, ‘ठमेल बजारमा।।।’ सहित दर्जनाँै गीतलाई चुनावी प्यारोडी गीत बनाउने गरेको थापा बताउनुहुन्छ । उहाँका अनुसार सबैभन्दा धेरै माओवादी केन्द्रको दमकका उम्मेदवारले प्यारोडी गीत रेकर्ड गराएका छन् । त्यसपछि राप्रपा, काँग्रेस र एमालेका उम्मेदवारले यस्ता गीत तयार पारेका छन् ।

उहाँको स्टुडियोमा दमकको मात्र होइन, कमल र गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका तथा मोरङको उर्लाबारी नगरपालिकाका उम्मेदवार पनि अर्डर लिएर आउने गरेका छन् ।

दैनिक १५ घन्टाभन्दा बढी गीत रेकर्डिङमा व्यस्त रहनु परेको अनुभव सुनाउँदै थापाले एउटा गीत तयार पारेको रु १० हजारदेखि रु २० हजारसम्म लिने गरेको बताउनुहुन्छ । गीतमा थापासँगै स्थानीय गायक चन्द्रा बस्नेत, सुदृष्टि राई, रमिला रम्जेल, डिकबहादुर धिमाल, लक्ष्मी खनाल, पिताम्बर दाहाल र रञ्जित प्रसाईंले स्वर दिँदै आउनुभएको छ । यज्ञराज आङदेम्बे/रासस

सडक सुधार गर्न भारतीय पत्रकारको सुझाव

पोखरा, १८ जेठ । अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् ।

प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताउनुभयो ।

नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका तथा अव्यवस्थित सडकको यात्रा गर्नुपर्दा निकै दुःख झेल्नु परेको वास्तविकतालाई आत्मसात् गरी सडक पूर्वाधारलाई व्यवस्थित गर्नुपर्नेमा दिल्लीस्थित मिलेनियम पोस्टका कन्सल्टिङ एडिटरसमेत रहेका अध्यक्ष गौतम लहिरीले जोड दिनुभयो ।

“नेपालले सडकका साथै सबै पर्यटकीय पूर्वाधार व्यवस्थित र सुदृढ गर्न सकेमा स्थल मार्गबाट समेत धेरैभन्दा धेरै पर्यटक नेपाल र पोखरा आउँछन्,” उहाँले भन्नुभयो । दिल्लीस्थित ‘आनन्दबजार’ पत्रिकाका सहायक सम्पादक अग्नि रोयले नेपालको अव्यवस्थित सडकलाई तत्काल सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ आएका पर्यटक पोखरा पुग्न एउटै मात्र पृथ्वी राजमार्ग रहेको र अन्य वैकल्पिक छोटो मार्ग नहुँदा नेपालप्रति पर्यटकको धारणा नकारात्मक हुन सक्नेतर्फ सबै सरोकारवाला गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

इन्डोएसियन न्यूज सर्भिसका वरिष्ठ सहायक सम्पादक प्रशान्त सुदले पोखराको सुन्दरताबाट आफूहरू निकै प्रभावित भएको बताउँदै पर्यटनका लागि चाहिने आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका लागि नेपाल सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले पटक पटकका बन्द र हडताल, भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिङ्गो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्रसमेत प्रभावित भएपनि अहिले यो सुधारका क्रममा रहेको जानकारी दिनुभयो । विगतमा सङ्घले ‘चलिए पोखरा’ अभियानका साथ भारतका विभिन्न सहरमा प्रवद्र्धनका लागि पुगेको स्मरण गराउँदै उहाँले त्यस्तो अभियान पुनः छिट्टै बोर्डर टाउन सेल्स मिसनअन्तर्गत सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल आउने वार्षिक आठलाख पर्यटकमध्ये एक तिहाइ भारतीयको सङ्ख्या रहने गरेको जानकारी दिँदै उहाँले क्रिकेटलगायत भारतीयले मन पराउने खेलबाट समेत नेपालमा भारतीय पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

सङ्घका सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र निकै संवेदनशील भएको र पोखरासहित समग्र नेपालमा पूर्वाधार निर्माणका लागि आफूहरूले सरकारलाई घच्घच्याइरहेको जानकारी दिँदै मुिक्तनाथ र पशुपतिनाथजस्ता धाम भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्य भएको स्मरण गराउनुभयो ।

सङ्घका महासचिव गणेशराज पहारीले पोखरा भारतीय पर्यटकका लागि गर्मी छल्न उपयुक्त स्थल भएको बताउँदै पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र तत्पश्चात् सिधा उडानमार्फत भारतीय पर्यटक नेपाल आउनसक्ने विश्वास व्यक्त गर्नुभयो । रासस

काँग्रेस रुपन्देहीले उम्मेदवारको टुङ्गो लगायो

लुम्बिनी, १७ जेठ । नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

एक नगरपालिकासहित छवटा गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाइएको हो । १६ स्थानीय तहमध्ये एक उपमहानगरपालिका, चार नगरपालिका र चार गाउँपालिकाको उम्मेदवारको टुङ्गो पनि दुई÷तीन दिनभित्रै लगाइसक्ने नेपाली काँग्रेस रुपन्देहीका सभापित अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नववती यादव, कञ्चन गाउँपालिकाको अध्यक्षमा डोलबहादुर थापा र उपाध्यक्षमा तीर्थकुमारी थारु, गैडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमान र उपाध्यक्षमा रीता पुन, मायादेवी गाउँपालिका अध्यक्षमा धुव्रनारायण चौधरी र उपाध्यक्षमा तारा यादव, कोटहीमाई गाउँपालिका अध्यक्षमा वीरेन्द्रकुमार कलवार र उपाध्यक्षमा सम्पात्ति यादव, मर्चवारी गाउँपालिका अध्यक्षमा ज्ञानप्रकाश मिश्र र उपाध्यक्षमा कान्ती बरइ उम्मेदवार बन्नुभएको छ । रासस

स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी

काठमाडौँ, १७ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

मन्त्रालयले तयार पारेको आदेशलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । स्थानीय तहमा निर्वाचित पदाधिकारीका बीचमा कार्य विभाजन र सम्पादनमा कुनै समस्या नआओस् भनी आदेश जारी गरिएको मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले राससलाई जानकारी दिनुभयो ।

“संविधानले स्थानीय तहलाई दिएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्ने क्रममा थप स्पष्ट पार्न यो आदेश जारी गरिएको हो, यसमा गाउँपालिका र नगरपालिकाका प्रमुख एवम् उपप्रमुखका लागि दिइएको अधिकारका विषयमा थप स्पष्ट पारिएको छ”– उहाँले भन्नुभयो ।

आदेशबमोजिम नगरपालिका अथवा गाउँपालिकाका कार्यपालिका एवम् सभाको बैठक बोलाउने र अध्यक्षता गर्ने तथा समापन गर्ने, बैठकमा कार्यसूची र प्रस्ताव पेस गर्ने अधिकार प्रमुख÷अध्यक्षलाई तोकिएको छ । प्रमुख÷अध्यक्षलाई आवधिक वा वार्षिक बजेट तयार पारी सभामा पेस गर्ने जिम्मेवारी पनि दिइएको छ ।

प्रमुख÷अध्यक्षले उपप्रमुख÷उपाध्यक्ष एवम् कार्यपालिका सदस्यलाई कार्यविभाजन नियमावलीअनुसार काम बाँडफाँड गर्ने अधिकार दिएको छ ।

स्थानीय तहका भवनको ढाँचा स्वीकृत

यसैगरी, मन्त्रालयले भवन निर्माण ढाँचा स्वीकृत गरी ७४४ स्थानीय तहलाई आज उपलब्ध गराएको छ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गरी भवन निर्माण ढाँचा स्वीकृत गर्नुभएको सचिव थपलियाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) ले ढाँचा तयार पारी मन्त्रालयमा पेस गरेको हो । गाउँपालिका एवम् नगरपालिकाका कार्यालय निर्माणका लागि चार र वडा कार्यालयका लागि छ प्रकारको नमुना स्वीकृत भएको छ ।

ढाँचाबमोजिम जमिनलगायत अन्य आधारलाई पनि दृष्टिगत गरी स्थानीय तहले भवन निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ढाँचाको कार्यान्वयनका लागि स्थानीय तहले चालु आर्थिक वर्षमा विनियोजित बजेट उपयोग गर्न सक्नेछन् । यसका लागि आगामी आवको बजेट पनि स्थानीय तहले छुट्याउन सक्नेछन् । अन्य स्रोतको खोजीका लागि पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

भवनको ढाँचा तोक्दा एकरुपता आउने, परिवर्तित कार्य जिम्मेवारी सम्पादन गर्न सहज र सेवा प्रवाहमा सरल हुने मन्त्रालयको विश्वास छ । रासस

पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १७ जेठ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउनुहुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।

नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्दा आवश्यक जानकारी पाउनेछन् । इच्छुकले गुनासो दर्ता गरेको भोलिपल्ट जवाफ दिने व्यवस्था गरिएको छ । जवाफ दिन प्राधिकरणले नै प्रश्नकर्तालाई फोन गर्ने व्यवस्था मिलाइएको छ । यो सेवा २४ सै घन्टा उपलब्ध हुनेछ ।

सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले नमुना गुनासो गरी शुभारम्भ आज गर्नुभयो । उहाँले पहिलो किस्ता लिई मापदण्डअनुसार जग हालेको तर दोस्रो किस्ता लिने प्रक्रिया पूरा गर्नका लागि कोही पनि अवलोकन गर्न नआएको नमुना गुनासो गर्नुभएको थियो ।

“यो सेवा लाखौँ भूकम्पपीडितका लागि उपयोगी हुन्छ, यसले पुनःनिर्माणमा थप सहयोग गर्नेछ, यसका कारण पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत पुग्छ”– उहाँले भन्नुभयो ।
सेवा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको सो अवसरमा जानकारी गराइयो । शुभारम्भ कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफी केम्खाडजेले सेवाले प्राधिकरणलाई स्थानीयस्तरको स्थिति बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

ग्रामीण महिलाको १४ घन्टा घरायसी काममा

काठमाडौँ, १७ जेठ । ग्रामीण भेगका महिलाले घरायसी काममा झन्डै १४ घन्टा व्यतीत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

अक्सफाम नेपालले यहाँ आज आयोजना गरेको ‘घरायसी काम र ज्यालादारी कामबीचको असमानता’ विषयको एक कार्यशालामा प्रस्तुत अध्ययन प्रतिवेदनमा घरायसी कामलाई कामका रुपमा नहेर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख छ ।

इन्टिच्युट अफ डेभलपमेन्ट स्टडिस (आइडिएस) र इन्स्टिच्युट अफ सोसियल स्टडी ट्रस्ट(आइएसटी)ले कर्णाली खाद्यान्न कार्यक्रमअन्तर्गत जुम्ला जिल्लामा र उद्यम विकास कार्यक्रमअन्तर्गत सुर्खेतमा गरेको अध्ययनका आधारमा सो प्रतिवेदन तयार पारिएको हो ।

सरकारले लागू गरेको कर्णाली रोजगार कार्यक्रम र अक्सफाम नेपालले लागू गरेको उद्यम विकास कार्यक्रमका आधारमा महिलासँगको छलफल र अन्तर्वार्ताका आधारमा सो प्रतिवेदन तयार पारिएको अक्सफामकी प्रतिनिधि रस्ना ढकालले जानकारी दिनुभयो ।

घरभित्र र बाहिर दुवै ठाउँमा श्रम गर्नुपर्दाको अवस्था, समाधानका उपाय तथा सरकार र गैरसरकारी क्षेत्रले गर्नसक्ने पहलको विषयसमेत प्रतिवेदनमा औँल्याइएको छ ।

महिलाको दोहोरो भूमिकाको पहिचान, दोहोरो भूमिका घटाउने उपाय र कामको पुनः वितरण कसरी गर्ने भन्नेमा अध्ययन केन्द्रित रहेको छ । रासस

३१८ नेपाली विदेशी जेलमा

काठमाडौँ। भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिनुभयो ।

जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युुदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युुदण्ड र तीन जनालाई जन्मकैद हुुन सक्नेगरी ती देशमा मुुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल‘प्रचण्ड’ले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्याङ्क तयार पारेको हो ।

भारतमा समेत ठूलो सङ्ख्यामा नेपाली जेलमा रहेको बताइए पनि उनीहरुको तथ्याङ्क नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस

पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन

इन्जिनियरलाई आजदेखि जिल्लामा खटाएको छ ।

इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गर्नेछन् । गुनासो सम्बोधन गर्दा पुनःसर्वेक्षणमा परेका करिब एक हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरुको वास्तविक अवस्थाबारे जानकारी लिने प्राधिकरणका सूचना व्यवस्थापन महाशाखा प्रमुख उपसचिव मनोहर घिमिरेले जानकारी दिनुभयो ।

घर भत्किएर पनि लाभग्राही सूचीमा पर्न नसकेको अति प्रभावित १४ जिल्लाबाट धेरै गुनासो आएपछि सम्बोधन गर्ने प्रयासमा प्राधिकरणले पहिलो चरणमा इन्जिनियरलाई जिल्लामा पठाएको हो । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेल, सचिव सर्वजीतप्रसाद महतो, कार्यकारी सदस्य डा हरिराम पराजुली लगायतले जिल्ला जान लागेका इन्जिनियरलाई बिदाइ गर्नुभयो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भूकम्पका कारण पीडित बनेका परिवारका जायज गुनासोसमेत सम्बोधन हुन नसकेकाले वास्तविक अवस्था बुझेर आउन इन्जिनियरलाई निर्देशन दिनुभयो । इन्जिनियरले ल्याउने विवरणका आधारमा प्राधिकरणले पुनःजाँच तथा सर्वेक्षणमा परेका परिवारलाई लाभग्राही सूचीमा समावेश गर्नेछ । रासस

काठमाडौँमा नगर कार्यपालिका निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ, १७ जेठ । काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शङ्खरापुर नगरपालिकामा आज भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले) को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले राससलाई जानकारी दिनुभयो ।

यसअघि नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो । पाँच महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सुनिता घ्लान, बुद्धिमाया तामाङ, ज्ञानकुमारी पोखरेल र उमादेवी कार्की निर्वाचित हुनुभएको छ । यसैगरी दलित वा अल्पसङ्ख्यकमा आनन्द सार्की, भक्तबहादुर कामी र अनिल परियार निर्वाचित हुनुभएको छ ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीनमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ ।
दक्षिणकाली नगरपालिकामा बिहीबार नगर कार्यपालिकाको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताउनुभयो । नौ वटा वडा रहेको नगरपालिकामा आजको मनोनयनमै निर्विरोध भएको हो । वडा नं ७ बाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचितमा काँग्रेस र एमालेका २३÷२३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुवै दलले सहमति गरेर चार÷चार पदमा उम्मेदवारी दिएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

नागार्जुन नगरपालिकामा जेठ १९ गते, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा जेठ २० गते, कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा जेठ २२ गते नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस

कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि

भक्तपुर, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको आज बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

असार ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो ।

दोस्रो चरणको चुनावका कारण छिटो परीक्षा लिने काम सम्पन्न गर्न शनिबारसमेत परीक्षा सञ्चालन हुने रिमालले बताउनुभयो । बोर्डको शैक्षिक क्यालेण्डरअनुसार वैशाख २४ गतेदेखि परीक्षा सञ्चालन हुनुपर्ने भए पनि स्थानीय तहको निर्वाचनका कारण पटकपटक मिति सारिँदा विद्यार्थी अन्योलमा पर्दै आएका थिए ।

परीक्षामा चार लाख ४९ हजार विद्यार्थी सहभागी हुने भएका छन् । रासस

दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित

काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।

सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो । रासस

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु, १७ जेठ । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ ।

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ “माथिमाथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें” हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “यसले एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिनसक्छ र फर्कनका लागि उनीहरुले सञ्चित गरिएका सिलिन्डर प्रयोग गर्ने योजना बनाएका हुन्छन्, त्यो हराउँदा ज्यानसमेत गुमाउनुपर्छ” पर्वतारोहण क्षेत्रमा कार्यरत मानिसले यस्तो चोरी एउटा प्रवृत्तिका रुपमा विकास भइरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्नुहुन्छ, “टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डर लैजान थालेपछि आफूहरुले केही गर्न सकिदैन” “यस्ता घटनाका कारण आरोहीले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवन रक्षाका लागि अनिवार्य अक्सिजन नै हराएपछि फर्कनुको विकल्प छैन” शेर्पाले भन्नुभयो ।

। पथप्रदर्शककाअनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् । आरोहीले श्वासप्रश्वासका लागि त्यसलाई फरक÷फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन् ।

गुनासो गर्नु मात्र हो, त्यहाँ सुन्ने कोही हुँदैन, सुरक्षाकर्मीको उपस्थिति हुन्न, सरकारले खटाएका सम्पर्क अधिकृत एकाध दिनबाहेक बस्दैनन्, त्यसैले अक्सिजन चोरीका घटना बढ्दै जाँदा आरोहणमै चुनौती थपिनसक्ने जानकार बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् ।

आरोही छिरिङ शेर्पा भन्नुहुन्छ “आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेको जस्तो देखिन्छ ।” समस्या बढ्दै गएकोले यसलाई सरकारी तहको उच्च निकायबाट ध्यान दिन जरुरी छ ।” रासस

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ ।

स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा सो गाउँ वा नगरभित्रका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् ।

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् ।

निर्वाचक मण्डलले निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अर्यालले बताउनुभयो ।

त्यसैगरी नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेन रुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् ।

नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको निर्वाचक मण्डलले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि सो नगर कार्यपालिकाको निर्वाचन सम्पन्न हुन्छ ।

उदाहरणका लागि काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, ३२ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा ४२ सदस्य हुन्छन् । नगरपालिका भन्नाले उपमहानगरपालिका र महानगरपालिका पनि बुझिन्छ ।

यसरी बन्छ गाउँ सभा र नगर सभा

नेपालको संविधानअनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचन भइसकेपछि सो तहमा विधायिकाको रुपमा रहने गाउँसभा र नगरसभाको गठन हुन्छ । गाउँसभामा सो गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य र गाउँ कार्यपालिकामा रहेका दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुई जना पनि सदस्यका रुपमा रहने सहप्रवक्ता अर्यालले बताउनुभयो ।

त्यस्तै नगरसभामा सो नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र नगरकार्यपालिकामा दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य रहन्छन् । उदाहरणका लागि, काठमाडौँ महानगरपालिकाको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ वटै वडाका जम्मा १२८ सदस्य र महानगरकार्यपालिकामा दलित र अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य गरी जम्मा १६५ जना हुन्छन् ।

जिल्लासभा र जिल्ला समन्वय समितिको गठन प्रक्रिया

जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सो जिल्लाको जिल्लासभा र जिल्ला समन्वय समिति गठन हुने निर्वाचन आयोगले जनाएको छ । जिल्लासभामा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाका सबै अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख रहन्छन् ।

उदाहरणका लागि, एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँ जिल्लाको जिल्लासभामा महानगरपालिका प्रमुख र उपप्रमुख तथा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २२ जना रहन्छन् ।

जिल्लासभाले सो जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कानुनी प्रावधान छ । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक प्रमुख, तीन महिला सदस्य, दलित र अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ । भीष्मराज ओझा/रासस

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ, १७ जेठ । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो ।

घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

विश्वकर्माको हत्यामा सलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्कालगायत प्रारम्भीक अनुसन्धानपछि विश्वकर्माको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

हत्यापछि विश्वकर्माले कानमा लगाएको सुनको रिङ, फुली र सौभाग्य लुटेको पाइएको प्रनाउ प्रधानले जानकारी दिनुभयो । रासस

टोलीले आयोगलाई प्रतिवेदन बुझायो

चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।

टोलीले सोमबार नै यहाँ आएर काम थालेको थियो । मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।

आयोगले यो विषयलाई छिटो टुङ््यग्याउने पक्षमा छ, प्रवक्ता शर्माले भन्नुभयो – “निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकल्न सक्छ ।”

टोलीमा सहजकर्ताका रुपमा सहभागी हुनुभएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ ।

सो टोलीले यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँगसमेत रायसुझाव लिएको थियो ।

आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हँुदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले (माओवादी केन्द्र)का दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको दावी नेकपा एमालेको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ ।

माओवादी केन्द्र र नेपाली काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका– १९ को मतदान पुनः गर्नुपर्ने माग गरिरहेका छन् भने एमालेले च्यातिएको मतपत्र छोडेर बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरिएको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।

भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहनुभएको थियो ।

महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । यसैबीच नेकपा एमाले चितवनले तत्काल मतगणनाको माग गर्दै मङ्गलबारदेखि विरोधस्वरुप मतगणनास्थल बाहिर धर्नामा बसेका छन् । रासस

काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।

यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख छ । रासस÷एएफपी

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउनु हुन्न ।
झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र आत्मिय सद्भाव भन्न सकिए ता पनि यसलाई पदीय कूटनीतिक शिष्टाचारको पालना गर्न बिर्सिएको ठान्छन् अमेरिकी सञ्चार सुरक्षाकर्मीहरु । अमेरिकी सेनाध्यक्षसमेत रहनु भएका राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नुहुँदा त्यसलाई पूर्ण सञ्चार सुरक्षा तथा गोप्यताको आवरण दिन हम्मे हम्मे परेको छ सञ्चार सुरक्षाकर्मी हरुलाई ।
हिजो अस्ति मात्र राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोलाई आफ्नो निजी मोबाइल नम्बर दिई प्रत्यक्ष फोन सम्पर्क गर्न आग्रह गर्नु भयो । उपरोक्त दुईजनामध्ये क्यानाडाली प्रधानमन्त्री ट्रुडोले सीधै फोन सम्पर्क गर्नु पनि भयो ।
त्यस्तै, यस महिनाको शुरुमा फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई पनि उपलब्ध गराइएको निजी मोबाइल फोन नम्बरमा राष्ट्रपति म्याक्रोँले आफ्नो बिजयपश्चात् धेरै पटक राष्ट्रपति ट्रम्पसंग सीधै फोन सम्पर्क गर्नु भैसकेको छ । साथै, रुसका राष्ट्रपति तथा उच्च पदाधिकारीहरु, अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुल तथा मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोले राष्ट्रपति ट्रम्पसँग सीधै मोबाइल फोन सम्पर्क गर्नु भएको छ ।
आधुनिक मोबाइल संसारमा बिश्वका ठूला नेताहरुले एक आपसमा मोबाइल फोनमा कुराकानी गर्नु सामान्य कुरा जस्तो लागे ता पनि कूटनीतिक क्षेत्रमा सुरक्षा र गोप्यताको दृष्टिकोणले मोबाइल फोन सम्पर्क बान्छनीय हुँदैन ।
बिश्वका दुई राष्ट्र प्रमुख वा सरकार प्रमुखबीच हुने भलाकुसारी होस् वा कुनै औपचारिक वार्ता, यसले अवश्य पनि राष्ट्रिय स्वार्थ वा अलग्गै महत्व धारण गरेकै हुन्छ । त्यसमाथि, कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखले यसरी अत्यधिक निजी मोबाइल फोन प्रयोग गरी वार्ता गर्दा आफ्नै देशको औपचारिक राष्ट्रिय सञ्चारउपर बिश्वास नगरेको वा यसलाई बेवास्ता गरेको भन्ने सन्देश जान सक्छ ।
अत्यधिक निजी मोबाइल फोनको प्रयोगले कूटनीतिक अनुशासन तथा मर्यादाको सीमा नघाएको हो कि भन्ने सन्देश पनि स्वतः जान्छ । अत्यधिक निजी मोबाइल फोनको प्रयोग गर्दा धेरै सूचना तथा कुराकानीहरु चुहिएर गै कति पटक राष्ट्रपति ट्रम्पलाई झस्किनु पर्ने अवस्थासम्म पनि पु¥याए ता पनि कूटनीतिक प्रयोजनमा उहाँले निजी मोबाइल फोन प्रयोग कम गर्नु भएको छैन ।
राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि अब औपचारिक कूटनीतिक सञ्चार मार्गका अतिरिक्त राष्ट्रपतिका सबै निजी मोबाइलका सञ्चार मार्गको सुरक्षा र गोप्यताको बलिष्ठ ब्यवस्थापनतर्फ लाग्ने जनाएको छ । यद्यपि यस्तो कार्य त्यत्ति सहज र पूर्णतया भर पर्दो भने मानिएको छैन ।रासस ÷एपी

रुहानीको कार्यशैलीलाई स्वीकार गर्नुहोस्

लन्डन, १७ जेठ । हसन रुहानी इरानी राष्ट्रपति पदको निर्वाचनमा अत्यधिक मतले पुनः विजयी हुनुभएको छ र उहाँले काम गर्नुपर्ने व्यक्ति भनेको प्रतिद्वन्द्वीको रूपमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहनुभएको बुझिन्छ । इरानको पारमारणविक महत्वाकाङ्क्षालाई हाल अवरुद्ध बनाउने सन् २०१५ को अन्तर्राष्ट्रिय सम्झौता नै उहाँहरूबीचको सम्बन्ध भन्ने बुभिन्छ ।

इरानी पारमाणविक सम्झौता अमेरिका तथा पूर्व क्रान्तिकारी इरानबीच दशकौँ लामो अवधिसम्मका दोहोरी, धकेलाधकेल, अघि बढ्दै र पछि हट्दै गरिएका पाइलाका चरमबिन्दु हो । अमेरिकी राष्ट्रपति जिमी कार्टरको प्रशासनका समयमा इरानमा शाहको पतन हुँदा दुई पक्ष निराशाजनक रूपमा विभाजित भए र अमेरिकी दूतावासका कर्मचारीलाई एक वर्षभन्दा बढी अवधि बन्धक बनाइयो ।

अमेरिकी राष्ट्रपति रोनल्ड रिगन तथा उहाँका उपराष्ट्रपति तथा प्रतिस्थापक जर्ज एच. डब्लु बुसका समयमा इरान–कोन्ट्रा काण्डका कारण परिस्थिति अझै जटिल बन्यो । इरानलाई हतियार बिक्री गर्न प्रतिबन्ध लगाइए पनि यस काण्डमा रिगन प्रशासनका अधिकारीहरूले सन् १९८५ देखि १९८७ सम्म इरानलाई हतियार बेच्न गोप्य रूपमा सहयोग गरे । यसको नतिजाको रूपमा तुलनात्मक रूपमा नरमपन्थी राष्ट्रपति हासेमी रफसनजानीले सन् १९८९ मा शासन लिएपछि इराकसँगको युद्ध अन्त्य भयो र अमेरिकालाई सल्लाह दिए झैँ राष्ट्रपति बुसको हात बाँधिएको जस्तो भयो ।

इराकसँग युद्ध अन्य भएपछि प्रगति गर्न सजिलो हुँदा रफसनजानीले इरानको पारमाणविक कार्यक्रम पुनः आरम्भ गर्नुभयो । वास्तवमा सन् १९८९ को जुनमा सर्वोच्च नेता आयातोल्लाह रुहल्लाह खोमिनीलाई प्रतिस्थापन गरेपछि कट्टरपन्थी आयातोल्लाह अली खामेनीले अमेरिकासँगको सम्बन्धलाई करिब पूर्ण रूपमा अवरुद्ध गर्दै मुलुकलाई त्यस दिशातर्फ अगाडि बढाउनुभएको थियो । राष्ट्रपति बिल क्लिन्टनको बढी लचक प्रशासनको समस्या समाधान गर्ने प्रयासलाई निरन्तर रूपमा अस्वीकार गरियो ।

यसपछि परिस्थिति परिवर्तन भए । नरमपन्थी राष्ट्रपति मोहमद खतामीले सन् १९९७ मा पदभार लिएपछि अमेरिका बढी कठोर दिर्शातर्फ अगाडि बढ्यो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्कवादीको आक्रमणपछि राष्ट्रपति जर्ज डब्लु बुसले इरान ‘‘पापको आधार’’को एक भाग भएको भनि भत्र्सना गर्नुभयो । त्यो भन्दा पनि सन् २००३ मा बुस अन्तर्गत रहेको अमेरिकाले इराकमाथि आक्रमण गरि इरानलाई पश्चिमतिर विस्तार गर्न सबैभन्दा ठूलो अवसर दियो । सन् २००५ मा इरानी क्षेत्रीय नेतृत्वको पुनरावृत्त सपनाले राष्ट्रपति महमुद अहमदिनेजादलाई शासनमा पु¥याउन सहयोग ग¥यो र उहाँले पारमाणविक कार्यक्रमलाई जोशका साथ अगाडि बढाउनुभयो ।

सन् २०१३ मा अहमदिनेजादलाई रुहानीले प्रतिस्थापन गर्नुभयो । अमेरिकामा राष्ट्रपति बराक ओबामा शासनमा हुनुहुँदा केही पाइला अगाडि बढ्ने परिस्थिति राम्रो थियो । दुई वर्षसम्मको मन्द वार्तापछि विस्तारै आर्थिक प्रतिबन्ध हटाउन इरानको पारमाणविक कार्यक्रम रोक्ने सम्झौता भयो ।

प्रतिपक्षले यस सम्झौतामा प्राविधिक समस्या रहेको र इरानलाई पारमाणविक हतियारको क्षमता विकास गर्ने काम गर्न नदिन यसले नसक्ने तर्क राखेका छन् । इरानले उक्त सम्झौता पालना गरेको छ कि छैन भनि परिक्षण गर्ने अधिकार पाएको संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) भने यस सम्झौतामा सहमत भएको थियो र त्यसलाई समर्थन जनाएको थियो ।

यसो भए पनि ट्रम्पले यस सम्झौतालाई खारेज गर्ने दृढता व्यक्त गर्नुभएको छ र उहाँका सल्लाहकारहरूले समर्थनको प्रक्रियामा उब्जेका तर्कहरूलाई नै उल्लेख गरिरहेका छन् । इजरायली प्रधानमन्त्री बिन्जमिन नेतन्याहुका सरकार तथा उसका समर्थकहरू बाहेक अन्य कसैले पनि यस पाइलालाई समर्थन गर्दैनन् ।

वास्तवमा इरान पारमाणविक क्षमता प्राप्त गर्न निरन्तर रूपमा अगाडि बढ्नेछ भने अपेक्षाले पारमाणविक अप्रसारणको सम्पूर्ण तर्क र अनुभवलाई ध्यान दिँदैन । आईएईएका निरीक्षकहरू हालसम्म प्रभावकारी तथा सही भएको प्रमाणित भए पनि उनीहरूलाई मुर्ख बनाउन सकिन्छ र सुरक्षित विश्वका लागि अभिरुचिमा साझेदारी भएन भने यस विषयमा प्रयास नगर्न मुलुकहरूलाई महत्वपूर्ण अभिप्रेरणा प्राप्त हुन्छ ।

जर्मनी र जापान जस्ता मुलुकसँग केही महिनामै पारमाणविक हतियारको क्षमता प्राप्त गर्ने आर्थिक तथा प्राविधिक क्षमता छन् । दर्जनौँ अन्य मुलुकले केही वर्षमै त्यो क्षमता प्राप्त गर्नसक्छन् । दक्षिण अफ्रिकादेखि अर्जेन्टिनासम्मका मुलुक तथा लिबियाले पनि पारमाणविक हतियार अप्रसारण सन्धि (एनपीटी) मा हस्ताक्षर गरि यस्तो पाइला नलिने सङ्केत दिएका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय दबाबप्रति समर्पण गर्न अस्वीकार गरेको छ र विश्वसमाजच्युतको रूपमा उसले ठूलो मूल्य तिरेको छ र आर्थिक प्रतिबन्धको पीडा भोगेको छ ।

सम्झौतालाई सम्मान गरेसम्म मात्र आर्थिक प्रतिबन्ध खुकुलो हुने भएकाले इरानका लागि यो सम्भावित अभिप्रेरणा बनेको छ । यसो भए पनि हालसम्म इरानले वास्तवमै आफ्नो बचन पालना गरेको छ तर जनवरीमा उसले मध्यमदुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेजस्तै उसका नेताहरूमा यो सीमालाई धकेल्ने प्रवृत्ति रहेको छ ।

अमेरिकाले एकपक्षीय रूपमा यो सन्धिलाई खारेज गर्ने काम सजिलो छैन । जे भए पनि असामान्य रूपमा चीन र रसिया समेत प्रमुख छ शक्ति संलग्न भएको वार्ताको नतिजाको रूपमा यो सम्झौता रहेको छ । फ्रान्स, जर्मनी तथा बेलायत अमेरिकाका प्रमुख युरोपेली मित्रराष्ट्र हुन् र उनीहरूले पनि यसमा भाग लिएका छन् तथा राम्रो कारण नभएसम्म पुनः प्रतिबन्ध लगाउने सम्भावना छैन । अन्य अरब मुलुकको प्रतिनिधित्व गर्दै साउदी अरेबियाले पनि यस सम्झौतामा असन्तोषबीच पनि पनि यसलाई समर्थन जनाएको छ । अमेरिकी संसदले आरम्भमा यसको विरोध गरे पनि मुख्य रूपमा यसलाई समर्थन गरेको छ ।

यस मुद्दामा बाँकी विश्वले पूर्णता भनेको राम्रोभन्दा फरक कुरा हो भन्ने कुरा बुझेको देखिएको छ । यो सम्झौता समग्रमा राम्रो कुरा हो भन्ने कुरामा गल्ती गर्नु हुँदैन । यो भत्कदा विश्वको सबैभन्दा अस्थिर क्षेत्रमा पारमाणविक हतियारको दौड आरम्भ हुनेछ ।

इरानको सबैभन्दा प्रमुख शत्रु साउदी अरेबियाले पर्याप्त पेट्रोडलर तथा पाकिस्तानी जानकारी प्रयोग गरी पारमाणविक क्षमता प्राप्त गर्न छिटो प्रयास गर्नेछ । अन्य मुलुक टर्की, कुवेत, इजिप्ट तथा अरेबिया पनि पछि पर्ने छैनन् । यी मुलुकले यस्ता हतियार प्राप्त गरे पनि यो जिम्मेवारीको अर्थमा ठूलो जोखिमको जुवा हुनेछ ।

पारमाणविक सम्झौताबाट हट्ने अमेरिकाको चुनौतीका साथमा इरानमा अनिश्चितता देखिएको छ । इरानको नरमन्थी शक्तिको संरक्षक रफसनजानीको जनवरीमा देहावसान हुँदा अन्त्येष्टिको समयमा यो इस्लामिक गणतन्त्रको इतिहासमा सबैभन्दा ठूला प्रदर्शनमध्ये एक देखा परेको थियो । प्रौढ खामेनी क्यान्सरबाट पीडित हुनुहुन्छ र नयाँ सर्वोच्च नेता छनौटको सङ्घर्ष निकै पर छैन ।

रिभलुसनरी गार्ड, कुद्स फोर्स तथा इरानी लडाकूका नेताहरू शक्तिमा आउन इच्छुक छन् र नरमपन्थी खतामी तथा रुहानीको समूहको दबाब सङ्कटमा छ । अर्थतन्त्र निकै कमजोर भएको अवस्थामा प्रतिबन्ध पुन आरम्भ हुँदा कट्टरपन्थीलाई शक्ति दिनेछ ।

छोटकरीमा भन्दा यो विश्वले इरानी पारमाणविक सम्झौता तोडिने कुरा सहन गर्न सक्दैन । यदि ट्रम्पले इरानसँग पुरानो दोहोरी आरम्भ गर्ने प्रयास गर्नुभयो भने त्यसको नतिजा मृत्युको नृत्य हुनसक्छ ।

रबर्ट हार्भी

(रबर्ट हार्भी बेलायती हाउस अफ कमन्सको परराष्ट्र मामिला समितिका पूर्व सदस्य हुनुहुन्छ, उहाँ ‘ग्लोबल डिसअडर’ तथा ‘अ फ्यु ब्लडी नोजिज : द रियालिटी एन्ड माइथलजिल अफ दी अमेरिकन रिभलुसन’ का लेखक हुनुहन्छ । अनुवाद : सुरेन्द्रबहादुर नेपाली) रासस/प्रोजेक्ट सिन्डिकेट

निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का

कैलाली, १७ जेठ । दोस्रोचरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् ।

सरकारले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोकिएको छ । अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सार्न सकिने हल्ला भएपछि निर्वाचन नै नहुने हो की भनेर यहाँका स्थानीयमा अन्यौलता छाएको हो ।

धनगढी उपमहानगरपालिका– २ का ७१ वर्षीय दलबहादुर साउदले पटक÷पटक स्थानीय तहको निर्वाचनको मिति सार्ने कार्यले निर्वाचन हुने कि नुहनेमा स्थानीयमा अन्यौलता छाएको बताउनुभयो ।

चुनाव प्रचारप्रसारका लागि जुटेका विभिन्न दलका नेता तथा कार्यकर्तामासमेत चुनाव कहिले हुने हो भने अन्यौलता देखिएको छ । रासस

निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन

काठमाडौँ, १७ जेठ । नेकपा (माओवादी केन्द्र)का पार्टी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेलको सम्भावनाबारे सङ्केत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो निर्वाचन, दोस्रो निर्वाचनको तयारी, सत्ता हस्तान्तरण, मतगणनाको क्रममा भएको चितवन घटना, गणतन्त्र दिवसमा घोषणा गरिएको विभूषणलगायतका विषयमा संक्षिप्त जानकारी गराउनुभएको सांसद आशा कोइरालाले जानकारी दिनुभयो ।

साथै, दोस्रो निर्वाचनको मिति पछाडि धकेल्नु पर्नको कारण र आगामी दोस्रो चरणको निर्वाचनमा हुनसक्ने चुनावी तालमेलको सम्भावनाका बारे पनि प्रधानमन्त्री दाहालले संसदीय दललाई जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन आफ्नो नेतृत्वको सरकारबाट हुनु र सङ्घीयता कार्यान्वयको सन्दर्भमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि (माओवादी केन्द्र)ले भने चामल बेच्न नसकेको बताउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो– “माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो,– “वर्षाैंदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ ।”

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफ्नो सरकारको पालामा महाकालीमा पुल निर्माण गर्ने तयारी गरिरहेको बताउँदै १४ वटा ठूला सडकसमेत निर्माण गर्ने तयारी गरिएको बताउनुभयो ।

“यसै अवधिमा आर्थिक वृद्धिदर ७.५५ पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ, इतिहासमै पहिलोपटक सङ्घीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ”– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । रासस

हतियार प्रहार गरी युवकको हत्या

लहान, १७ जेठ । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन÷चार पटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

घटनालगत्तै सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको हुँदा घटनाको सत्य कुरा छिट्टै पत्ता लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । रासस

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौँ, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

“मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुस्, राष्ट्रिय सहमतिको सरकार गठनको आजको दिनलाई सदुपयोग गर्नुस्, राष्ट्रिय सहमतिका सरकार गठन नभए भोलिबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ”–राष्ट्रपति भण्डारीले भन्नुभएको स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो ।

दलका नेताले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले आज रातिसम्म सक्दो प्रयास गर्ने बताउनुभएको थियो ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा भएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुनुहुन्थ्यो ।

त्यसैगरी, बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको हो । जुन सहमतिको सरकारको पहल गर्ने समय आज सकिँदैछ ।

तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । रासस

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

पोखरा, १७ जेठ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

सरकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलोचरणको निर्वाचनको अधिकांश स्थानको मतपरिणाम घोषणा भई नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् ।

निर्वाचन आयोग पहिलोचरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरी दोस्रोचरणको निर्वाचनको तयारीमा जुटेको छ ।

पहिलोचरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नयाँ व्यवस्थाअनुसारको स्थानीय तहका अधिकारको उपयोगलाई अव कार्यान्वयनमा लैजानुपर्ने टड्कारो आवश्यकता छ ।

संविधानको अनुसूची– ८ मा स्थानीय तहको अधिकारको सूची उल्लेख गर्दै विभिन्न २२ वटा अधिकार राखिएको छ ।

जस अन्तर्गत नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर(सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्टे«ेसन शुल्क, सवारीसाधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर(मालपोत), दन्डजरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन रहेका छन् ।

स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन, स्थानीयस्तरका विकास आयोजना तथा परियोजना, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ, गाउँसभा, नगरसभा, जिल्लासभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घरजग्गा धनी पुर्जा वितरण जस्ता अधिकार छन् ।

त्यस्तै कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन, बेरोजगारको तथ्याङ्क सङ्कलन, कृषिप्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, खाने पानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जा, विपद् व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकासजस्ता अधिकारलाई स्थानीय तहका अधिकारका रुपमा उल्लेख गरिएको छ ।

संविधानको अनुसूची– ९ मा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख गरिएको छ ।

साझा सूचीमा सहकारी, शिक्षा, खेलकुद र पत्रपत्रिका, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी, सिँचाइ जस्ता सेवा, सेवा शुल्क, दस्तुर, दन्डजरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क, वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता छन् ।

त्यस्तै खानी तथा खनिज, विपद् व्यवस्थापन, समाजिक सुरक्षा र गरिबी निवारण, व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क, पुरातत्व, प्राचीन स्मारक र सङ्ग्राहालय, सुकुम्वासी व्यवस्थापन, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र सवारीसाधन अनुमतिजस्ता विषय साझा अधिकारका सूचीमा उल्लेख छन् ।

संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तहका अधिकारको उपयोग तथा कार्यान्वयनमा अवसर तथा चुनौती दुबै रहेको अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित प्रमुख युवराज कुँवर बताउनुहुन्छ ।

“संविधानले स्थानीय तहलाई प्रदान गरेका २२ वटा अधिकारलाई कार्यान्वयन गर्दै तिनको उपयोग गर्न सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ,” – उहाँले भन्नुभयो ।

स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधेयक पारित भई ऐनका रुपमा आएपछि अधिकार कार्यान्वयनका विषयलाई थप मार्गनिर्देश गर्ने उहाँको भनाइ छ ।

संसद्मा विचाराधिन उक्त विधेयकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख छ ।

स्थानीय तहलाई समृद्धितर्फ लैजान स्थानीय करलगायतका विभिन्न अधिकार संविधानले स्थानीय तहलाई प्रदान गरेको छ भन्नुहुन्छ रुपा गाउँपालिकाका नवनिर्वाचित प्रमुख नवराज ओझा ।

“संविधानले प्रदान गरेका अधिकारलाई उपयोग गर्दै गाउँपालिकालाई आर्थिक समृद्धि र विकासको बाटोमा लैजानु वर्तमानको आवश्यकता हो,” उहाँ उल्लेख गर्नुहुन्छ, “ अधिकारको उपयोग तथा कार्यान्वयनमा अवसरसँगै चुनौती पनि उत्तिकै भएका कारण काम गर्दै जाँदा आइपर्ने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।”

देशको पुनः संरचना अनुसारका अधिकांश स्थानीय तह साधन स्रोतका दृष्टिले कमजोर रहेको वास्तविकतामा संविधानले प्रदान गरेका अधिकारलाई उपयोग गर्न सर्वप्रथम गाउँपालिका तथा नगरपालिकालाई सक्षम बनाउनु पनि उत्तिकै आवश्यक रहेको सरोकारवाला बताउँछन् । रासस

इवामुराद्वारा पित्तथैलीको शल्यक्रिया शिविर सञ्चालन

भक्तपुर, १७ जेठ । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ ।

आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत मारिकुले आर्थिक अभाव र जनचेतना नहुँदा वर्षौंदेखि पित्तथैलीको पत्थरीको समस्या लिएर बसेका बिरामीको उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको बताउनुभयो ।

गत वैशाख १५ गतेदेखि एक महिने शिविर सञ्चालन गरेकोमा बिरामीको चाप बढेपछि असार १५ गतेसम्मका लागि शिविर थप गरेको उहाँले जानकारी दिनुभयो ।

अत्याधुनिक दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया शिविरमा बिरामीको चाप बढेपछि अस्पतालले एक महिना शिविर थप गरेको उहाँले बताउनुभयो । शिविरमा एक महिनाको अवधिमा २० जनाको पित्तथैलीको शल्यक्रिया भएको छ ।

शिविरमा भक्तपुरलगायत धादिङ, झापा, गोरखा, जनकपुर र बुटवलका बिरामी आएको बताउँदै अस्पतालका अर्का व्यवस्थापक जीवन मारिकुले शिविरमा चार जना विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा पु¥याएको बताउनुभयो ।

शिविरमा आउनेमा ८० वर्ष उमेर माथिका बिरामीको सङ्ख्या धेरै रहेका छन् । अस्पतालले छुट्टै डेक्स नै स्थापना गरेर जनचेतना एवम् परामर्शसमेत दिन थालेको व्यवस्थापक मारिकुले जानकारी दिनुभयो । रासस

शव पहिचान नहुँदा प्रहरीलाई समस्या

रसुवा, १७ जेठ । गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ ।

करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ ।

रसुवामा जेठ १२ गतेका दिन दुई व्यक्ति निधन भएकामा अर्का एकजनाको गोसाइँकुण्डमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । रासस

सुतेकै अवस्थामा दुईजना मृत फेला

मेलम्ची, १७ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् ।

शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा लगिएको छ । रासस

स्थानीय तह निर्वाचन फेरि स-यो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १७ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ ।

यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।

मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गर्नुभएको थियो ।

“दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिएको थियो, असार ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको हो”, उपप्रधानमन्त्री निधिले भन्नुभयो । रासस

Tuesday, May 30, 2017

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

रुपन्देही, १७ जेठ । नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ ।

वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सभापति एवम् सांसद अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नववती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् । कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारूले उम्मेदवारी पाएका छन् । गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवारी पाएका मुसलमान नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति हुन् ।

रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् । मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् । त्यस्तै, रुपन्देही काँग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा वीरेन्द्रकुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् ।

यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिनुभयो । बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवार केन्द्रीय छनौट समितिले टुङ्ग्याउनेछ । अन्य नगरपालिकाको उम्मेदारको छिट्टै टुङ्गो लगाउने जिल्ला सचिव रामकृष्ण खाँणले बताउनुभयो । रासस

मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

नुवाकोट, १७ जेठ । मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित हुनुभयो ।

उहाँहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । दलिततर्फ राममाँया सुनार र अल्पसङ्ख्यकतर्फ लालबहादुर घले निर्विरोध हुनुभयो । महिला, दलित र अल्पङ्ख्यकको सहभागितासँगै मेघाङमा गाउँकार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य पुगेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो ।

यस्तै, तादी गाउँपालिकाको सदस्यमा काँग्रेसबाट बिमला विश्वकर्मा, अलैँची थापा, सम्झना तामाङ र नेकपा (माओवादी केन्द्र)बाट यशोदा कट्टेल निर्विरोध निर्वाचित हुनुभयो ।

दलिततर्फ दीपक परियार र अल्पसङ्ख्यकतर्फ साबित्रा बराम चयन हुनुभयो । निर्वाचन अधिकृत चन्द्रकान्त खनालका अनुसार तादी गाउँपालिकाको कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य निर्वाचित भएसँगै पूर्णता पाएको छ ।

जिल्लाको बाँकी स्थानीय तहमा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान रहेको छ । नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच महिला र दलित तथा अल्पसङ्ख्यक गरी तीनजनाको प्रतिनिधित्व हुने कानुनी व्यवस्था छ । रासस

जलेश्वर कारागारमा नेपाली सेना खटाइयो

गौशाला, १७ जेठ । महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ ।

स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

उहाँले जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो ।

यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले बताउनुभयो ।

कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन् । जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित ३९७ कैदीबन्दी रहेका छन् । रासस

दोहोरी गीत तिम्ले विर्सेनीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नव गायक राजन केसी र पूर्णकला बिसिको स्वरमा रहेको लोक दोहोरी गीत तिम्ले विर्सेनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी कुशल खत्रीको शब्द सृजना रहेको यस गीतमा चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठको संगित रहेको छ । नव गायक राजन केसी र सञ्चारकर्मी कुशल खत्रीको प्रस्तुति रहेको यस गीतलाई एक्टर नेपाल नेटवर्क प्रा.लिले बजारमा ल्याएको छ ।
मायालु जोडीको पिडालाई कथाको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । प्रेमिका र प्रेमि छुटिनु पर्दाको पिडालाई आकर्षक एंव मार्मिक ढंगबाट भिडियामा प्रस्तुत गरिएको छ । सार्वजनिक भएको भिडियोमा सञ्चारकर्मी कुशल खत्री र मोडल उषा सुवेदीको अभिनय रहेको छ । अमृत सुनुवारको छायांकनमा तयार भएको भिडियोलाई माधव वेल्वासेले सम्पादन गरेका छन् । भिडियोको निर्देशन युवा सञ्चारकर्मी मनोज थापाले गरेका छन् । थापा सञ्चारकर्म सगैं म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । गीतकार समेत रहेका थापा रेस्पोन्सिभ मिडियाको प्रबन्ध निर्देशक तथा एक्टर नेपाल नेटवर्कका निर्देशक हुन । भिडियोलाई शिवपुरी टेलिभिजिनले निर्माण गरेको हो ।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts