काठमाडौँ, १७ जेठ । काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ ।
शङ्खरापुर नगरपालिकामा आज भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले) को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले राससलाई जानकारी दिनुभयो ।
यसअघि नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो । पाँच महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सुनिता घ्लान, बुद्धिमाया तामाङ, ज्ञानकुमारी पोखरेल र उमादेवी कार्की निर्वाचित हुनुभएको छ । यसैगरी दलित वा अल्पसङ्ख्यकमा आनन्द सार्की, भक्तबहादुर कामी र अनिल परियार निर्वाचित हुनुभएको छ ।
नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीनमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ ।
दक्षिणकाली नगरपालिकामा बिहीबार नगर कार्यपालिकाको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताउनुभयो । नौ वटा वडा रहेको नगरपालिकामा आजको मनोनयनमै निर्विरोध भएको हो । वडा नं ७ बाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचितमा काँग्रेस र एमालेका २३÷२३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुवै दलले सहमति गरेर चार÷चार पदमा उम्मेदवारी दिएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
नागार्जुन नगरपालिकामा जेठ १९ गते, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा जेठ २० गते, कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा जेठ २२ गते नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस
No comments:
Post a Comment