Wednesday, June 28, 2017

पहिरो जाँदा गाउँ विस्थापित

धादिङ, १४ असार । वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले टेलिफोन गरेर बताउनुभयो ।

गए राति पनि परेको ठूलो वर्षाका कारण साबिकको लापा गाविस– २ मा, चपाङचेतका केही ठाउँमा पहिरो गएको छ भने वर्र्षाको पानीले घरको जग नै चिरा चिरा पारिदिएको छ । पहिराले स्थानीयवासी गुरुङ घले, रुक घले, मनाङ घले, मलङ तामाङ, परमेन तामाङ, छिरङ तामाङ, नीरबहादुर तामाङ, तामर तामाङ, सुदिव तामाङ र मनाङ तामाङका घरमा क्षति पु¥याएको छ ।

आफ्नो र परिवारको ज्यान बचाउनका लागि अहिले गाउँमाथिको जङ्गलमा गएर बस्न बाध्य भएको प्रभावितहरुले बताएका छन् । कहिले भूकम्प त कहिले पहिराको डरमा कतिन्जेल बस्ने भन्दै अहिले प्रभावितले बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् ।

भूकम्पका कारण चिरा परेको जमिनमा ठूलो पानी पर्दा पहिरो जाने खतरा कायमै रहेकोले बस्ती नै सार्नुपर्ने भनी पुनःनिर्माण प्राधिकरणको विज्ञको टोलीले प्रतिवेदन दिए पनि बस्ती सार्न जिल्लाबाट कुनै पहल नभएपछि गाउँबासी वर्षा लागेसँगै खतरामा परेका हुन् । प्राधिकरणले जिल्लाका १० स्थानमा रहेको पहिराका कारण बस्ती सार्नुपर्ने प्रमाणित गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले भने सो विषयमा छलफल नै नगरेकाका कारण उत्तरी धादिङको पहिरो प्रभावित जोखिममा बस्दै आएको लापा निवासी जीवन तामाङले बताउनुभयो । भूकम्पपछि देशभरि चार हजार तीन सय १२ पहिरो गएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts