आज दिवा सेवामा प्रयोग भएको अनलाइन आइटम नं. ३० को “सचेतना अपनाउन जनस्वास्थ्यको आग्रह
”शीर्षक समाचार सट्टा यो समाचार प्रयोग गर्नुहोला –सम्पादक
रत्ननगर (चितवन), ३ साउन । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरमा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित पाइएको हो ।
कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानबारे आज जानकारी दिँदै यहाँका आठ हजार ७९७ घरमा गरिएको अनुगमनमा ६९३ घरमा डेंगु पोजेटिभ पाइएको बताउनुभयो ।
रत्ननगरमा आठ हजार ३३० घरमध्ये ५३५ र खैरहनीको एक हजार ४६७ घरमध्ये १५८ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा फेला परेको प्रतिवेदनमा जनाइएको छ ।
विभिन्न घरमा डेंगु सार्ने एडिस एजेप्टाइ नामको लामखुट्टेका लार्भा र प्युपा पाइएको भन्दै केसीले अन्य घरमा समेत यसले रोग सार्ने सक्ने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।
सो क्षेत्रमा भेटिएका लार्भा स्वयंसेविकाले नष्ट गरेको र फेरि विभिन्न भाँडाकुडाँमा एक हप्तासम्म पानी जमेमा लार्भा हुर्कने र डेंगु रोग लाग्न सक्ने भएकाले यसतर्फ ध्यान दिन कार्यालयले सुझव दिएको छ ।
रत्ननगरकी स्वयंसेविका ज्ञानु वाग्लेले नगरपालिकाभित्रै पनि लामखुट्टेका लार्भा र प्युपा फेला परेको जानकारी दिनुभयो । अघिल्लो वर्ष रत्ननगर नगरपालिकामा डेंगुको प्रकोप फैलिएकाले यहाँ डेंगु रोक्न पूर्वतयारी स्वरुप अभियान चलाइएको हो ।
डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न नदिन चिकित्सकले आग्रह गरेका छन् ।
रोग नियन्त्रणको प्रभावकारी माध्यम नै खोजेर नष्ट गर्ने भएकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । आव २०७२÷७३ मा ८५ जनामा रोग देखिँदा एक जनाको मृत्यु भएको थियो ।
चालु आवमा ६८७ जनामा रोग देखिँदा एक जनाको ज्यान गएको तथ्याङ्क छ । यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्ने डा भोजराज अधिकारी बताउनुहुन्छ । रासस
No comments:
Post a Comment