Tuesday, July 18, 2017

‘भूकम्पबाट क्षतिग्रस्त गुम्बाको अझै पुनःनिर्माण हुन सकेन’

काठमाडौँ, २ साउन । भूकम्पबाट क्षतिग्रस्त भएका बौद्ध सम्पदाको पुनःनिर्माण अझै शुरु हुन सकेको छैन् ।

मुलुकभर बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा एक हजार ३०० भन्दा बढी बौद्ध गुम्बा छन् । तीमध्ये नौ सय ९३ गुम्बा भूकम्पबाट क्षतिग्रस्त भएका थिए । उक्त गुम्बा पुनःनिर्माणका लागि विदेशी दातृ मुलुकबाट करिब रु आठ अर्ब ९३ करोड सहयोग प्राप्त भएको थियो ।

भूकम्प प्रभावित गुम्बा, विहार पुनःनिर्माण सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले हालसम्म क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण कार्यको थालनी नगरेको जानकारी दिइयो ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त गुम्बालाई पाँच वर्गमा वर्गीकरण गरी ‘क’ वर्गको ४९ गुम्बालाई रु एक करोड पाँच लाख, ‘ख’ वर्गको ६३ गुम्बालाई रु ८२ लाख, ‘ग’ वर्गको १९० गुम्बालाई रु ७१ लाख, ‘घ’ वर्गको गुम्बालाई रु ६१ लाख र ‘ङ’ वर्गको गुम्बालाई रु ५१ लाख दिने निर्णय गरेको थियो । उक्त वर्ग विभाजनलाई पनि सङ्घर्ष समितिले विरोध गरेको छ ।

सङ्घर्ष समितिका संयोजक सानुबाबु लामाले गुम्बाको पुनःनिर्माण कार्यको थालनी नभएको तथा बजेट बीचमा नै हराउने स्थिति आएको भन्दै त्यसविरुद्ध सरकारसमक्ष १० बुँदे माग बुझाइएको बताउनुभयो । उहाँले नयाँ कार्यविधि खारेजसहित पुनःनिर्माण कार्य शुरु नगरेमा यही साउन ८ गतेदेखि आन्दोलन गर्ने जानकारी दिनुभयो ।

पूर्वमन्त्री सूर्यमान गुरुङले गुम्बाभित्रका प्राचीन चित्र, मुर्ति तथा अन्य बहुमूल्य वस्तु संरक्षण तथा ती गुम्बा पनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै धर्म निरपेक्ष राष्ट्र घोषणा भइसक्दा पनि बौद्ध धर्म, संस्कति तथा गुम्बा संरक्षणमा सरकार उदासीन भएको आरोप लगाउनुभयो । उहाँले ९९३ क्षतिग्रस्त गुम्बामध्ये हालसम्म एउटा गुम्बाको पनि पुनःनिर्माण शुरु नगरेको बताउनभयो ।

धर्मगुरु ग्याल्सो लामाले गुम्बा पुनःनिर्माणका लागि दातृ संस्थाबाट आएको रकम कहाँ गयो भनी प्रश्न गर्दै गुम्बा विकास समिति तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणमा चासो नदिएको आरोप लगाउनुभयो ।

नेपाल तामाङ घेदुङ ३ नं प्रदेशका संयोजक सोमबहादुर तामाङले बौद्ध सम्पदा देशको धरोहर भएको बताउँदै यसको संवद्र्धन गर्न समयमै बजेट उपलब्ध गराई गुम्बा पुनःनिर्माण कार्य थाल्न सरकारसँग आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts