Thursday, July 13, 2017

महिला हत्या, हिंसाका दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ, २९ असार । सभामुख ओनसरी घर्तीले महिला हिंसा–हत्यकाका घटनामा संसद्को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती विषयमा कारबाही गर्न सरकारलाई निर्देश गर्नुभएको छ ।
यसअघि व्यवस्थापिका–संसद्को आजको बैठकमा समय लिएर विभिन्न दलका सांसदले मुलुकमा केही दिनयता भएका महिला हत्या, हिंसाका घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्नुुभएको कुरा सदनको जानकारीमा आएको बताउँदै सभामुखले सो निर्देशन दिनुभएको हो ।

बैठकमा नेपाली काँग्रेसका डा आरजु देउवाले मुलुकका सबै कानुन महिलामैत्री भए पनि रुकुममा हालै निर्वाचित दलित महिला बयानसरी कामीको शपथ नहँुदै हत्या हुनु दुःखद् भएको बताउनुभएको थियो । उहाँले दैलेखमा छाउपडी गोठमा सर्पको डसाइबाट महिलाको मृत्यु भएको, बाँकेको कोहलपुरमा श्रीमान्ले सुत्केरी श्रीमतीको टाउको काटेर हत्या गरेको, सोलुखुम्बु, गुल्मीलगायतमा महिलाको हत्या र हिंसा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
काँगे्रसकै रामहरि खतिवडाले साउन १ देखि १५ सम्म मतदाता नामावलीको समय थोरै भएको र वर्षात्को समय भएकाले जिल्ला कार्यालयमा मात्र सीमित नगरी जो जहाँ छ त्यहीँबाट नामावली संकलन गर्न सक्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का रेवतीरमण भण्डारीले मुख्य सचिव डा सोमलाल सुवेदी पदबाट राजीनामा नगरी एसियाली विकास बैंकमा आफ्नो पदभन्दा तल्लोस्तरमा जागिर खान गएका प्रति आपत्ति जनाउँदै त्यस सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले सरकारले एक मुख्य सचिवलाई सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा राखी अर्काे मुख्य सचिव नियुक्त गरेकामा आपत्ति जनाउनुभयो ।
एमालेकै पुरुषोत्तम पौडेलले पनि मुख्य सचिव सुवेदीले निवृत्तिभरण बढी पाउने लोभमा पदबाट राजीनामा नगरी बैंकमा जागिर खान जान लागेका सम्बन्धमा सरकारका तर्फबाट आधिकारिक जवाफ माग गर्नुभयो । सोही दलका सुशीला नेपालले महिला विभिन्न कारणबाट शिकार भइरहेकामा दुःख व्यक्त गर्दै छाउपडी गोठमा महिलाको मृत्यु हुनु मुलुकका लागि लज्जाको विषय हो, भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले संविधानले न्याय र समानतामा आधारित समाज निर्माण गर्ने लक्ष्य राखे पनि महिला हत्या हिंसाका घटना हुनु दुःखद् भएको बताउनुभयो । कानुनले व्यवस्था गरेका प्रावधानको आवश्यक जनचेतनाको कमीका कारण पनि महिला हिंसा हुने गरेको बताउँदै उहाँले दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।
माओवादी केन्द्रकै अमनलाल मोदीले चिकित्सा शिक्षा क्षेत्रमा बढी अंक प्राप्त गरेका आधारमा भर्ना हुनुपर्नेमा नेशनल मेडिकल कलेज र युनिभर्सल कलेजले बढी रकम लिएर नन–मेरिटका आधारमा भर्ना लिएका प्रति आपत्ति जनाउँदै कारबाही गर्न माग गर्नुभयो ।

राप्रपाका कुन्तीकुमारी शाहीले मुलुकका विभिन्न भागका केही दिनयता भएका घटना हेर्दा कानुन बनाएर मात्र महिला हिंसा नियन्त्रण हँुदैन भन्ने देखिएको बताउँदै यससम्बन्धी आवश्यक जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पुँजीगत खर्च ४५ प्रतिशत मात्र भइरहेको र चालु खर्चमध्येबाट एक हजार ४९२ जना कर्मचारीको विदेश भ्रमण खर्च भइरहेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रुक्मिणी चौधरीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुममा निर्वाचित कामीको शपथ खान नपाउँदै हत्या हुनु दुःखद् हो भन्दै हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्नुभयो । उहाँले निर्वाचन आयोगले मतदाता नामावली संकलनका सम्बन्धमा निकालेको सूचनाको समयावधि थोरै भएको बताउँदै जिल्ला कार्यालयमा मात्र सीमित गर्दा जनताको हितमा नहुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts