काठमाडौंँ, २९ असार । थाइल्याण्डको राजधानी बैंककमा नेपाली कलाकार अनिता खनाल भट्टराईले ‘अनरेवल मेन्सन अवार्ड’ जित्नुभएको छ ।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, इटलीलगायत आठ देशका कलाकारको सहभागिता रहेको ‘सहअस्तित्व’ शीर्षक प्रतियोगितात्मक कला प्रदर्शनीमा कलाकार भट्टराईले सो सम्मान पाउनुभएको हो । ललितकला विषयमा स्नातकोत्तर भट्टराई नेपाल तथा विदेशमा एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागी भइसक्नुभएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।
पुरस्कार ग्रहण गर्न गत हप्ता थाइल्याण्ड पुग्नुभएकी भट्टराईले आफ्नो जलरङले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा अत्यन्तै खुशी लागेको र नेपाली कलाकारले अवसर पाए देशविदेशमा पुरस्कृत तथा सम्मानित हुन सक्ने बताउनुभयो । “नेपाल कलाको लागि अत्यन्तै संभावना बोकेको भूमि हो । अन्य देशका कलाकार र कलाका मर्मज्ञसमक्ष नेपालबारे प्रचारप्रसार गर्न कार्यक्रमले सहयोग पुगेको छ,” भट्टराईले भन्नुभयो ।
एक हप्ता लामो सो कार्यक्रममा विभिन्न देशका प्रतिष्ठित कलाकारको सहभागिता थियो । प्रदर्शनीका साथै कलाकारले बैंककमा कला कार्यशाला पनि गरेका थिए । फोकस बंगलादेशले आयोजना गरेको सो कार्यक्रममा पुरस्कृतलाई अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी थाइल्याण्डका प्रमुख लाफेले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment