त्रिशूली (नुवाकोट), २१ असार । पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय तहको निर्वाचनले स्थानीयस्तरमा नै लोकतन्त्रको जग बसाल्ने काम गरेको बताउनुभएको छ ।
आज नुवाकोटको लिखु् गाउँपालिका वडा नं ४ चौघडामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नंं २ का सांसदसमेत रहनुभएका डा महतले स्थानीय तहको निर्वाचनले नयाँ संविधानलाई कार्यान्वयन गराउँदै स्थानीयस्तरमा लोकतान्त्रिक अभ्यासको थालनी भएको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस नेता डा महतले अब काम गर्ने बेला आएकाले सबै निर्वाचित जनप्रतिनिधिले इमान्दारितापूर्वक द्रूतगतिमा काम गरेमा नेपाल चाँडै समृद्ध हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनका बेलामा जुन दलमा आबद्ध भएर विजयी भएपनि जनप्रतिनिधिका रुपमा सबै नागरिकलाई समान व्यवहार गरी काम गर्ने दायित्व पूरा गर्न पनि आग्रह गर्नुभयो ।
डा महतले चौघडाको क्षेत्रपाल सामुदायिक संस्थाले स्पीड वे फाउन्डेसन र बेन्जामिन इन्टरनेशनलले प्रदान गरेको सुविधा सम्पन्न एम्बुलेन्सको साँचो संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा स्पीड वे फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठ र बेन्जामिन इन्टरनेशनलका अध्यक्ष मार्टिन लुइसले मन्तव्य राख्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । स्पीड वे फाउन्डेसनका अध्यक्ष श्रेष्ठले चौघडा क्षेत्रमा पाँच रोपनी क्षेत्रफल जग्गामा सामुदायिक बहुउद्देश्यीय केन्द्र निर्माणको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएको कियाको हाइस एम्बुलेन्स अहिले नुवाकोटमा सञ्चालन भइरहेको भन्दा धेरै सुविधा सम्पन्न भएको बताइएको छ । रासस
No related posts.
No comments:
Post a Comment