भक्तपुर, १३ साउन । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्य ‘महाजु’को एक सय ५० औँ जन्मजयन्तीका अवसरमा आज उहाँको साहित्यिक योगदानका बारेमा चर्चा गरिएको छ ।
सिद्धिदास प्रतिष्ठान भक्तपुरले आयोजना गरेको कार्यक्रममा तत्कालीन समयमा उहाँको लौहपुरुष गणेशमान सिंह तथा साहित्यकार सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र चक्रपाणि चालिसेसँगको सामीप्यताबारे समेत चर्चा गरियो ।
‘सिद्धिदास महाजुया थीथी चिन्तन’ (सिद्धिदास महाजुका विभिन्न चिन्तन) विषयको कार्यक्रममा प्रा डा योगेन्द्र प्रधान र उपप्राध्यापक रवि शाक्यले उहाँले नेपालभाषा तथा साहित्यको पुनर्जागरण कालमा यसको उत्थान र विकासमा महत्वपूर्ण योगदान पु¥याएका महाजुका विभिन्न आयामका बारेमा प्रकाश पार्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै प्रा डा तुयुबहादुर महर्जनले ‘सिद्धिदास महाजुका साहित्यमा वर्णविन्यास व्यवस्था’बारेमा कार्यपत्र प्रस्तुत गर्दै वर्णविन्यास र व्याकरणको उत्थानमा उहाँको योगदानबारे प्रष्ट पार्नुभयो । उहाँको कार्यपत्रमाथि ओमकार श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
त्यस्तै प्रा डा चुन्दा वज्राचार्यले ‘महाकवि महाजुको कृतिमा महिलाप्रतिको धारणा’बारे प्रस्तुत गरेको कार्यपत्रमाथि प्राज्ञ धु्रव मधिकर्मीले टिप्पणी गर्नुभयो । प्रा डा योगेन्द्र प्रधानले प्रस्तुत गरेको ‘महाकवि सिद्धिदास महाजुका विविध विचार’ विषयको कार्यपत्रमाथि साहित्यकार त्रिरत्न शाक्यले टिप्पणी गर्नुभयो ।
उपप्राध्यापक रवि शाक्यले प्रस्तुत गरेको ‘सज्जन हृदयाभरण नामक महाकाव्यमा संस्कृति नीति साहित्यको प्रभाव’ विषयको कार्यपत्रमाथि साहित्यकार गोविन्दमान श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।
प्रा माणिकलाल श्रेष्ठ, मल्ल के सुन्दर, आयोजक प्रतिष्ठानका विमल प्रधानलगायतले महाकवि महाजुको योगदानबारेमा चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडा, सचिव अमररत्न वज्राचार्य, शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले समेत महाजुको विविध आयामबारे चर्चा गर्नुभएको थियो । महाजुका ‘सज्जन हृदयभरण’, ‘सत्यवती’, ‘सत्य मदन’, ‘शुकरम्भा संवाद’, ‘रम्भाव शुक संवाद’, ‘सिद्धि रामायण’लगायत कृति प्रकाशित छन् । रासस
No related posts.
No comments:
Post a Comment