Friday, July 7, 2017

सानोसिरुवारीमा लिफ्टिङद्वारा खानेपानी योजना

चौतारा, २३ असार । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ ।

आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागेको हो ।

साबिक सेलाङ गाविस हाल जुगल गाउँपालिकामा पर्ने थालखर्क मुहानबाट सदरमुकाम चौतारामा खानेपानी योजना सञ्चालन गरिएको थियो । अढाइ दशकअघि १८ किमी टाढाबाट ल्याइएको सो योजना सानोसिरुबारीमा पनि विस्तार गरिएको थियो । तर हप्तामा आक्कल झुक्कल दुई÷चार गाग्री मात्र पानी आउने भएकाले गाउँवासीले एक गाग्री पानीका लागि लामो समय गुजार्नुपर्ने बाध्यतामा रहेका थिए ।

उक्त योजना बजार क्षेत्रबाट लगिएको हुँदा सरकारी कार्यालय, अस्पताल, सेना तथा प्रहरीलाइ पर्याप्त पानी वितरण भएपछि मात्र पुछारमा रहेका उपभोक्ताले आक्कल झुक्कल मात्र पानी उपभोग गर्न पाएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासीको सक्रियतामा ‘वल्र्ड भिजन’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग रु एक करोड २८ लाख ४९ हजारको लागतमा गत वर्षदेखि ‘मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी योजना’ स्वीकृत भई तीव्ररुपमा निर्माण कार्य भइरहेको सो संस्थाका कार्यक्रम संयोजक रोहित शर्माले जनकारी दिनुभयो ।

सो संस्थाले लिफ्टिङका लागि थप आर्थिक सहयोग प्रदान गर्न असमर्थता जाहेर गरेको र विद्युत् शक्तिको पनि नियमितता नभएकाले पानी तान्न सोलार जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले रु ४० लाख अनुदान प्रदान गरेको छ ।

उक्त योजनाका लागि मुहानमा फिल्टर सहितको ५४ घनमिटर, बीचमा ५० घनमिटर र अन्तिम बिन्दुमा रहेको कोटडाँडामा ८० घनमिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिनेछ । मुहानदेखि डाँडासम्म एक हजार ६०० मिटर पाइपद्वारा पानी लगिने कार्यक्रम रहेको छ । जलाशयबाट ३० हजार ७०० मिटर पाइपमार्फत दुई विद्यालय र २८० घरपरिवारका एक हजार ७७२ जनसङ्ख्यालाइ शुद्ध खानेपानी वितरण गरिने कार्यक्रम रहेको छ । सो योजना आगामी फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको सो संस्थाले जनाएको छ ।

वर्षौंदेखिको खानेपानीको समस्या निकट भविष्यमै समाधान हुने आशा राखेका गाउँलेले पाइप लाइन खन्न व्यापक श्रमदानमा जुटेका छन् । योजना सम्पन्न भएपछि इच्छुक उपभोक्ताले रु तीन हजार लगानी गरेमा निजी धारासमेत राख्न पाइने उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । पहाडी क्षेत्रमा प्रायःजसो नदीमाथि गाउँबस्ती रहेका कारण खानेपानी तथा सिँचाइको अभाव भोगिरहेका छन् ।

ती गाउँलेले धेरै ठाउँमा लिफ्टिङद्वारा पानी तानेर समस्या समाधान गरिरहेका उदाहरण रहेको छ । आर्थिक स्रोत जुटाउन समस्या परेपनि आधुनिक प्रविधिका कारण सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा जिल्लाका धेरै स्थानमा लिफ्टिङद्वारा खानेपानीको समस्या समाधान भएका छन् ।

लिफ्टिङद्वारा नै इन्द्रावती नदीको पानी तानेर गत चार वर्षदेखि न्यौपानेटारका सयौँ रोपनी सुख्खा फाँट हराभरा रहेको उक्त आयोजनाका अध्यक्ष रहेका इन्द्रावती गाउँपालिका–१४ भोटसिपाका राजेन्द्र आचार्यले बताउनुभएको छ । राम केसी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts