चरीकोट, ३ साउन । दोलखा जिल्लाको सदरमुकाम चरीकोटका बासिन्दाको भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि कटेरोभित्रको दुःखद जीवनयापनमा कुनै परिवर्तन आएको छैन ।
भीमेश्वर नगरपालिका– ६ स्थित चोथाङका अधिकांश तामाङ बासिन्दामा अझै पनि घर बनाउने कुनै सुरसार नै नदेखिएको हो ।नगरपालिकावाट प्राप्त विवरणअनुसार सो वडाका ४५० भूकम्प पीडितले प्रथम किस्ता बुझे पनि ६० जनाले मात्रै घर निर्माणपछि दोस्रो किस्ताका लागि निवेदन दिएका छन् ।
उक्त वडाका नरबहादुर तामाङ आफूहरुलाई सरकारले घर पुनःनिर्माणका लागि रु. ५० हजार दिए पनि सदरमुकाममा बनाइने घर सरकारले तोकेको मापदण्ड र बजारमा सुहाउँदो र आकर्षक खालको हुनुपर्ने भएकाले रु १० लाखदेखि १५ लाख जम्मा भएपछि मात्रै निर्माण थाल्ने बताउनुुहन्छ ।
घर कहिले निर्माण थाल्नुहुन्छ, भनी सोध्दा उहाँले भन्नुभयो, “ हामीले घर निर्माण गर्ने हो सरकारले हैन, त्यसैले मेरो आर्थिक स्रोत जुटेपछि मात्रै पुनःनिर्माण थाल्छु । ”
तामाङ जातिको बाहुल्यता भएको सो वडामा निम्न आय भएका बासिन्दाले सरकारले दिएको ५० हजारले घडेरी खारेर कम खर्चमा सुरक्षित घर बनाउन खोजे पनि रकम अभावकै कारण हालसम्म पनि जस्ताको पानी चुहिने कटेरोमा जीवनयापन गरिरहेका छन् । सोही टोलकी ६६ वर्षीया एकल महिला पूर्णी तामाङ भन्नुहुन्छ्, “म जस्तीको घर कसले बनाउन सहयोग गर्छ र ?यो वर्षाद्ले गर्दा म बुढीलाई हैरान भएको छ । म एक्लै बस्छु परिवारमा कोही छैन् । रातभरि पानी पर्छ कटेरोभित्र पानी छिरेर कहिले त सुत्न पनि पाउँदिन । सरकारले दिएको ५० हजार कटेरो बनाउँदै सकियो ,अब पैसा छैन, कसरी घर निर्माण गर्नु।”
मनको बेदना आँखाबाट झार्दै उहाँ भन्नहुन्छ, “ म एक्ली छु, काम गर्ने खेताला र सिकर्मी पाउन सकेकी छैन, सरकारले थप साँडे दुई लाख पनि दिन्छ रे तर पनि मैले घर निर्माण गर्ने सुरसार गर्न सकेकी छैन ।”
सो वडाका एक दुईजनाले भवन पुनःनिर्माण गरेपनि सरकारले दिने भनेको दोस्रो र तेस्रो किस्ता समयमानै नपाएपछि आफूहरु मारमा परेको उनीहरु बताउँछन् ।
घर निर्माण गरेर बस्नुभएका मोहन थापा भन्नुहुन्छ, “मैले घर सरकारले तोकेको मापदण्डकै आधारमा नै बनाएको हुँ तर हाल सम्म पनि दोस्रो किस्ता दिइएको छैन, कहिलेसम्म आस गरेर बस्ने ? ”
पुनःनिर्माणमा सरकारी संयन्त्रको ढिलासुस्तीले गर्दा आफूहरु समस्यामा परेको पीडितहरुको आरोप छ । कतिपय स्थानमा घरको जग राखेर इन्जिनियरलाई बोलाउँदा पनि प्राविधिकको बेवास्था गर्दा पुनःनिर्माणले गति नलिएको सोही स्थान निवासी प्रेमकुमारी सुवेदी बताउनुहुन्छ ।
उक्त वडाका वडाध्यक्ष नवीन लामाले स्थानीय वासिन्दालाई सरकारले तोकेको मापदण्ड र नगरपालिकाको अपनाएको मापदण्डका आधारमा घर पुनःनिमार्णमा जुट्न सहयोग गर्ने बताउनुहुन्छ । वर्षाद् सकिनसाथ पुनःनिर्माणको कार्यलाई तीव्रता दिनेमा उहाँ जोड दिनुहुन्छ । रासस
No comments:
Post a Comment