Thursday, July 6, 2017

थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय

गोरखा, २२ असार । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् ।

मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएर सोही खातामा मुआब्जा रकम पठाउने गरिएको छ ।

प्रजिअ बस्नेतले भन्नुभयो, “३१५ जना प्रभावितको बैंक खातामा कुल रु ८५ करोड पठाउने समितिले निर्णय भएको छ ।” अहिलेसम्म बूढीगण्डकी प्रभावितलाई रु दुई अर्ब चार करोड मुआब्जा दिइसकिएको छ ।
अहिले गोरखाको साबिक घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका प्रभावितलाई मुआब्जा दिइएको हो । चालु आवमा मुआब्जाका लागि रु पाँच अर्ब बजेट उपलब्ध भएकामा धादिङतर्फ पनि मुआब्जा वितरणको काम भएको छ । गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा यकिन नभएकाले त्यहाँका बासिन्दाले छिटो मुआब्जा निर्धारण र वितरण गर्न माग गर्दै आएका छन् ।
बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फका बासिन्दाले अनुदान रकम पाए पनि कस्तो घर बनाउने भन्नेबारे आफूहरु अन्योलमा रहेको पनि बताएका छन् । छिट्टै डुबान पर्ने भए टहरामै बस्ने उनीहरुको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts