काठमाडौँ, १४ भदौ । महिला सिर्जनशील केन्द्र नेपाल (क) ले आज एक कार्यक्रम गरी काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिको सम्मान ग¥यो ।
केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनप्रतिनिधिलाई जनताका आवश्यकता पूरा गर्ने काम जिम्मेवारीपूर्वक गर्न आग्रह गर्नुभयो ।
विभिन्न तालीमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण तथा जनप्रतिनिधिलाई सम्मान गरिएको उक्त कार्यक्रममा नेता सिंहले सीप र स्वरोजगारमूलक कार्यले मात्रै हरेक व्यक्ति आत्मनिर्भर र स्वावलम्बन बन्ने धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीलाई तालीममा सिकेका सीपको सदुपयोग गरेर आर्यआर्जन गर्न सुझाव दिँदै नेता सिंहले हस्तकला र घरेलु उत्पादनका सामग्रीको बजार स्थानीय तहले खोजिदिनुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मुलुकका लागि अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउँदै सीपमूलक कार्यले मात्रै बेरोजगारी समस्या समाधान हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वसांसद कल्याणी रिजाल, केन्द्रका अध्यक्ष अनिता चापागार्इं, काँग्रेस युवा नेता प्रवीण ओझा लगायतले सीपमूलक कार्य र स्वरोजगारले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख खड्गी तथा अन्य वडाका अध्यक्ष र सदस्यलाई सम्मान तथा विभिन्न तालीम सम्पन्न गरेका महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment