काठमाडौँ, १८ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि रु ५३ अर्ब संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निकासा गरेको छ ।
निजी आवास पुनःनिर्माणको समय सीमा एक वर्ष निर्धारण गरेको प्राधिकरणले अनुदान वितरणका लागि भूकम्प प्रभावित जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम अभाव हुन नदिन अग्रिम बजेट पठाएको हो । मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई आज उक्त रकम निकासा गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
नयाँ आर्थिक वर्ष शुरु भएपछि प्राधिकरणले निजी आवास अनुदान वितरणका लागि पहिलो पटक रकम मन्त्रालयलाई पठाएको हो । निकासा गरिएको रकम भूकम्प प्रभावित ३१ जिल्लामा निजी आवास अनुदान वितरणका लागि आवश्यकताअनुसार एकाइले लाभग्राहीलाई वितरण गर्नेछ ।
प्राधिकरणले निजी आवास अनुदान वितरणलाई तीव्रता दिन अग्रिमरुपमै भूकम्प प्रभावित जिल्लामा रकम पठाएर आवश्यक समन्वय गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ । प्राधिकरणले यो आर्थिक वर्षको अन्त्यसम्ममा अनुदानको सबै रकम वितरण गर्ने कार्ययोजना बनाएको छ ।
अहिलेसम्म भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान सम्झौता भएका कुल लाभग्राहीमध्ये छ लाख तीन हजार ५३ ले अनुदानको पहिलो किस्ता लिइसकेका छन् भने प्रक्रिया पुगेकालाई मागअनुसार दोस्रो र तेस्रो किस्ता वितरण भइरहेको छ ।
सर्वेक्षणबाट पहिचान भएका सात लाख २४ हजार ८९५ लाभग्राहीमध्ये छ लाख ३१ हजार ८२ सँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लालाई प्राथमिकता दिएर अनुदान वितरण गरिएको थियो । कम प्रभावित १७ जिल्लामा पनि अहिले अनुदान वितरण तीव्ररुपमा भइरहेको छ ।
भूकम्प अति प्रभावित १४ जिल्लामा एक लाख १५ हजार ४९ घर पुनःनिर्माण शुरु भइसकेको छ भने ४६ हजार ५५५ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । रासस
No related posts.
No comments:
Post a Comment