रसुवा, २४ साउन । उत्तरगया गाउँपालिका वडा नं ४ ढकाल डाँडालगायत क्षेत्रको भौगर्भिकक अवस्था परीक्षण गरिदिन स्थानीय तहले आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार यही साउन २२ गते रातिको अविरल वर्षाका कारण गाउँपालिकाको आधार इलाका पहिरेबेंसीमा १४ घर पहिराले पुरिएको र ४० घरपरिवार विस्थापित भइसकेका छन् । पहिरेबेंसीको माथिल्लो भाग कुवापानी, ढकालडाँडा भेकमा बसोबास गर्ने करिब दुई सय घरपरिवारमा परेको समस्यालाई ध्यानमा राख्दै खानी तथा भूगर्भ विभागमार्फत जाँच गरिदिन आग्रह गरिएको हो ।
“त्यस भेकका बासिन्दा अत्तालिएका छन्, वर्षायाममा पानी ठूलो परिरहन्छ, अन्यत्र बास बस्ने ठाउँ छैन, रात परेपछि अँध्यारोको बेला के होला ? २०१८ सालपछि पहिरोले उग्ररुप लिन्छ कि भन्ने शंका बढ्यो, गाउँवासीको हितका लागि तत्काल परीक्षण हुन जरुरी छ” वडा नं ४ का वडाध्यक्ष केशरबहादुर ब्लोनले बताउनुभयो ।
भीषण पहिराले त्यस भेकको मनिगाउँ क्षेत्र बगाएको र पहिरो क्रमशः अडिँदै गएपछि स्थानीय किसानले खेती गर्न थालेकामा अहिले सोही क्षेत्रको उत्तरगयातर्फको भूभाग चिराचिरा हुँदै पूरै पाखो बग्छ कि भन्ने शंका पैदा भएको समाजसेवी काजीमान ब्लोनले बताउनुभयो । रासस
No comments:
Post a Comment