पोखरा, २४ साउन । राष्ट्रिय वन दिवसका अवसरमा जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा आज जिरो किमीदेखि पर्यटकीयस्थल हल्लनचोकसम्म सडकको दायाँबायाँका बिरुवा गोडमेल एवं वृक्षरोपण गरिएको छ ।
“हिमाल बचाऔँ, वातावरण जोगाऔं” भन्ने मुख्य उद्देश्यका साथ जिल्ला वन कार्यालयलगायत विभिन्न संघसंस्थाको सहयोगमा चार वर्षअघि करिब दुई किमी सडकको दुवै किनारामा कपुर, कल्की, गुलमोहर, पारिजात अशोकलगायत ३७१ बिरुवा रोपिएको थियो ।
कार्यक्रममा जिल्ला वन अधिकृत केदार बरालले वृक्षरोपणपछि संरक्षणका लागि सबैको ध्यान पुग्नु आवश्यक भएको बताउनुभयो ।
तीनदिने कार्यक्रमअन्तर्गत जिल्लाका उत्कृष्ट सामुदायिक वन समूहको सम्मान, अन्तरक्रिया, जनचेतना अभिवृद्धिलगायतका कार्यक्रम राखिएको छ । गोडमेल तथा वृक्षरोपण कार्यक्रममा पोखरा उपमहानगरपालिका– ५, ६ र ७ तथा जिल्ला वन कार्यालयका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो । रासस
No comments:
Post a Comment