Friday, August 18, 2017

त्रिचालीस सन्तानकी मायालु आमा

उर्लाबारी (मोरङ), ३ भदौ । उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् ।
बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा ताप्लेजुङमा विवाह भयो । पहाडको विकट ठाउँमा विवाह भएपछि उहाँले धेरै दुःख पीडा भोग्नुप¥यो । पढ्ने उमेरमा विवाह गरेर उहाँले धेरै संघर्ष गर्नुभयो तर वैवाहिक जीवन सफल हुन सकेन । लामो समयसम्म संघर्ष गर्दा पनि श्रीमान्ले अरु दुई श्रीमती थपेपछि बाध्य भएर समाज सेवामा लागेको उहाँले सुनाउनुभयो ।

आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर अरु अनाथ बालबालिकाले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले विसं २०५७ देखि उहाँको सोचमा उर्लाबारीमा नमूना बालगृह (आश्रम) स्थापना भयो । सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले तीन वर्षदेखि १९ वर्षसम्मका ४३ बालबालिका बस्छन् जसमा २०÷२५ जिल्लाका चेपाङदेखि लोपोन्मुख सन्थाल जाति गरी १५ जातजातिका छन् ।

गृहका संस्थापक अध्यक्ष बरालले अहोरात्र खटेर यहाँ आश्रित बालबालिकाको जीविकोपार्जन गर्दै आउनुभएको छ । सबैले बराललाई ‘ममी’ भनेर सम्बोधन गर्छन् । ती बालबालिकालाई बरालले आफ्नै सन्तानसरह माया दिनुभएको छ । “एक बिगाहा क्षेत्रफलमा रहेको यो आश्रम दाताकै सहयोगको भरमा चलेको छ । संस्थाको सुरुआती अवस्थामा उर्लाबारी–६ स्थित राधिका माविले चार कट्ठा र आफ्नै पहलमा दुई कट्ठा जग्गा खरिद गरी भौतिक संरचना निर्माणको योजना बनाइयो”, बरालले विगतलाई सम्झिँदै भन्नुभयो, “ भवन निर्माणका लागि पुराण लगायौँ, त्यसबाट सबै खर्च कटाएर रु एक लाख बचत भयो, अनि त्यसैबाट भवन निर्माण सुरुआत गरेका थियौँ ।”
उहाँका अनुसार गंगाप्रसाद खरेल, लालबहादुर राई र सञ्चालकको लगानीमा तीन कोठाको भवन निर्माण शुरु गरिएको हो । हङकङका खगेन राईलगायत मनकारी व्यक्ति तथा संघसंस्थाको सहयोगमा भवन निर्माण भयो । यतिबेला गृहमा आवास, भान्छाकोठा र स्कुल भवन छन् । एउटा गाईगोठमा आधा दर्जन गाई पालिएका छन् ।

विसं २०६४ मा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतवासले दिएको एउटा एम्बुलेन्स छ । त्यस्तै पाँच वर्षदेखि नमूना शिक्षा सदन दर्ता गरी गृहमै सञ्चालनमा रहेको छ । गृहका बालबालिकामध्ये उर्लाबारी–७ स्थित न्यु भिजन इङलिस बोर्डिङ स्कुल, बेथेल एजुकेशन एकाडेमी, भृकुटी मोडल एकाडेमी र पशुपति बोर्डिङ स्कुलमा केही बालबालिका निःशुल्क रुपमा अध्ययनरत छन् ।

साना बालबालिका गृहमै रहेको विद्यालयमा पढ्छन् भने कक्षा ४ देखि अन्य उर्लाबारी–८ स्थित लक्ष्मी माविमा र तीन जना उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययरत छन् । पछिल्लो समय बालगृहमा जन्मदिन र चाडपर्व मनाउन आउनेको संख्या बढ्दै गएको छ । महिनामा तीन जनासम्म जन्मदिन मनाउन यहाँ आउने गरेका छन् । यहाँ आउनेहरुले बालगृहलाई सक्ने सहयोग गर्दै आएका छन् । सोही सहयोगले धेरै धानेको बराल बताउनुहुन्छ ।

संस्था सञ्चालनका लागि आर्थिक समस्या देखिन थालेपछि अहिले ‘एक रुपैयाँबाट एक करोड’ भन्ने अभियान थालिएको छ । “आठ हजार ५०० मानिसबाट दैनिक रु एकका दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा रु डेढ करोड हुन्छ, यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था सञ्चालनका लागि हारगुहार गर्न आवश्यक पर्ने थिएन”, बरालले भन्नुभयो ।

अक्षय कोषमा सहयोग पनि जुटिरहेको छ । गृह सञ्चालनका लागि दिगो आयस्रोतका रुपमा त्यो अक्षय कोष बन्ने भएकाले सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ । वार्षिक रु १७ लाख खर्च हुने सो गृहको सम्पूर्ण खर्च स्थानीयवासीको सहयोग तथा संस्थाको अक्षय कोषमा निर्भर छ । हाल संस्थाको आम्दानीको स्रोतका रूपमा अध्यक्ष बरालले प्रदान गरेको रु ७० लाखमध्ये करिब रु ५७ लाखको नगद र जिन्सीसहितको अक्षय कोष स्थापना गरिएको छ ।
संस्थाको नियमित सहयोगी संस्थाका रूपमा रहेको एनआइसी बैंकले वार्षिक रु एक लाख ८० हजार प्रदान गर्दै आएको छ । अनाथ बालबालिकाको नागरिकतासमेत बालगृहले नै बनाउँदै आएको छ । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्म दर्ता उर्लाबारी नगरपालिकाबाट र नागरिकतासमेत बनाउन बाबुले सनाखत गर्ने ठाउँमा बालगृहले गर्ने गरेको बरालले बताउनुभयो । “उनीहरुका बाबुआमा कस्तो अवस्थामा छन् भन्ने पनि थाहा छैन, त्यस कारण हामीले नै नागरिकता बनाउने गरेका छौँ, सनाखत चाहिँ नमूना बालगृहले गर्छ”, उहाँले सुनाउनुभयो, “अहिलेसम्म दुई जनाले नागरिकता लिइसकेका छन्, तत्काल छ जना लिने तयारीमा छन् ।”
वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नु परेपछि बाँकी जीवन अनाथ बालबालिकाका लागि सुम्पने निर्णय गर्नुभएकी बराल अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बन्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts