इनरुवा, २० साउन । चार दिनअगाडि सुनसरीको भोक्राहा गाउँपालिका–२ मा म्याजिक भ्यानको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको बिहीबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी आरिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी भोक्राहा गाउँपालिका–२ सडकखण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नंको म्याजिक भ्यानले को १६ प १२४५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट भोक्राहा गाउँपालिका–२ बस्ने अन्सारीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइए पनि उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालक फरार रहेकाले खोजी भइरहेको छ ।
चिया पोखिँदा गम्भीर घाइते
यसैबीच, सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा बिहीबार तातो चिया जीउमा पोखिँदा एक बालिका गम्भीर घाइते भएकी छिन् । स्थानीयवासी जीवन चौधरीकी डेढ वर्षीया बालिका लिजाकुमारी चौधरीको जीउमा तातो चिया पोखिँदा गम्भीर घाइते भएकी हुन् ।
चिया बनाएर घरको टेबुलमा राखेको र सोही चिया बालिकाको जीउमा पोखिएपछि गम्भीर घाइते भएको स्थानीयवासी भागवत ठाकुरले जानकारी दिनुभयो ।
चिया पोखिँदा घाइते भएकी लिजालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासी ठाकुरले जानकारी दिनुभयो । रासस
–––––––
No related posts.
No comments:
Post a Comment