Tuesday, September 5, 2017

सडक आयो, गाडी आएनन्

ताप्लेजुङ, २० भदौ । ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् ।
दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन् ।

यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर गर्ने ओलाङ्चुङगोलावासीलाई घर छेउमा नै सडक आए पनि अझै हिँड्नुपर्ने बाध्यता कायमै छ । चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङ बस्तीबाट २२ किमीको दूरीमा छ । बस्तीबाट टिप्ताला पुग्न एक दिन पूरै हिँड्नुपर्छ । तिब्बतमा पर्ने रिउ बजारको भरमा रहेका स्थानीयवासीलाई सडक हुँदाहुँदै हिँड्न मन लाग्दैन । हिँड्नै पर्ने बाध्यतामा परेका उनीहरुलाई सवारीसाधन नहुँदा अहिले तनाव सिर्जना भएको छ । “सडक भएपछि गाडी चढेरै ओहोरदोहोर गर्ने रहर स्थानीयवासीको मात्रै नभई सो क्षेत्रमा घुम्न पुग्ने आन्तरिक पर्यटकको पनि हुन्छ, तर बस्तीबाट चीनतर्फ जाने सवारीसाधन नभएपछि समस्या भएको छ”, ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले भन्नुभयो ।

स्थानीयवासीले नै पनि सवारीसाधन किन्ने चाहना राखेका छैनन् । अध्यक्ष शेर्पाले भन्नुभयो, “सवारीसाधन किन्ने इच्छा नै भए पनि चीनबाट सवारीसाधन किन्न पाउने या नपाउने भन्ने विषयमा जानकारी छैन ।” ओलाङ्चुङगोलामा सीमा भन्सार कार्यालय रहे पनि त्यहाँ कार्यालय सहयोगीभन्दा माथिको कर्मचारी नरहेकाले थप जानकारी लिनसमेत नसकिएको शेर्पाको गुनासो छ ।
राजधानीमा रहेको वालुङ समाजले भने सवारीसाधन भित्र्याउने र बाटाको थप स्तरोन्नति गर्ने विषयमा बेलाबेलामा छलफल चलाउने गरे पनि ठोस निष्कर्ष भने निकाल्न सकिरहेको छैन । समाजले टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको सडक निर्माणमा खर्चसमेत जुटाएको थियो ।

फक्ताङ्लुङ गाउँपालिका प्रमुख सरोज एभेङले भने चीन सरकारस“ग मिनी बस उपहार माग्ने विषयमा छलफल भएको बताए । तर निर्णय नभएको एभेङको भनाइ छ । उनले मुलुकका अन्य सीमा क्षेत्रको अभ्यासलाई पनि बुझ्ने र सोही अनुसार काम गर्ने मनस्थिति भएको बताएका छन् । उनले भने, “सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला बस्तीमा सडक पुगेको भए समस्या हुने थिएन, तर अझै समय लाग्ने देखिएकाले समस्यामा परियो ।” ओलाङचुङगोलावासीले खाद्यान्न लगायतका वस्तु रिउ बजारबाट ल्याउने गरेका छन् भने यहाँ उत्पादित वस्तुको बजार पनि तिब्बत नै हो ।

यता २०६६ सालदेखि शुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण भने फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा पुगेको छ । हालसम्म ४१ किमी मार्ग खोलिएको छ । बाँकी ३५ किमी बाटो खुलेमा ओलाङ्चुङगोलासँग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिनेछ । उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीले सो सडक निर्माणका लागि सरकारले यस वर्ष रु ६० करोड विनियोजन गरेको र बहुवर्षीय ठेक्कामा लगाउने निर्णय भएको बताउनुभयो । उहाँले केही वर्षमा नै ताप्लेजुङ सदरमुकाम ओलाङ्चुङगोलासँग जोडिने जिकिर गर्नुभयो । फुङ्लिङबाट ओलाङ्चुङगोलासम्म पैदल यात्रा गरेर ओहोरदोहोर गर्न कम्तीमा छ दिनसम्म लाग्ने गरेको छ ।

चीन र नेपालको सिमाना टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको २१ किमी मार्ग भने साउनको शुरुआतमा नै खोलिसकिएको थियो । टिप्तालादेखि उक्त बस्तीसम्मको २१ किमी लामो सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भएको छ । दुई तिहाइ बढी वालुङ समाजले सडक निर्माणमा लगानी गरेको छ । रु दुई करोड ५० लाख समाजले संकलन गरेको थियो भने सांसद विकास कोष र साबिकको गाविससमेतको गरी रु ५३ लाख रहेको छ । ओलाङ्चुङगोलामा जन्मिएर देश तथा विदेशमा बसोबास गर्दै आएका वालुङवासीले सडक निर्माणका लागि सहयोग गरेका हुन् ।
टिप्तालादेखि ओलाङ्चुङगोलासम्म बाटो खुलेपछि तिब्बतबाट दुई साना सवारीसाधन, डिजेल बोक्ने ट्याङ्कर, लोडर र स्काभेटर मेसिन आएर फर्किएका छन् । सडकसँगै तिब्बतबाट सवारीसाधन बस्तीमा आउँदा भने स्थानीयवासीले रातभर धुन्ज्याङ (नाचगान) गरेर खुशीयाली मनाएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts