काठमाडौँ, २३ भदौ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुलुकलाई चाहिएका बेला २४ घण्टा नै कर्मचारी उपस्थित हुनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा सेवानिवृत्त विशिष्ट श्रेणीका कर्मचारीको कार्यकारी परिषद्द्वारा प्रकाशित ‘सार्वजनिक सेवा’ नामक जर्नलको आज लोकार्पण गर्दै उहाँले साँच्चिकै राष्ट्रसेवक कर्मचारी बन्नका लागि नयाँ जोश जाँगरका साथ कर्मचारीले काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले स्थानीय तहमा कर्मचारी पठाउन तथा समायोजन ऐन र केन्द्र, प्रदेश तथा स्थानीय तहको निजामती सेवा ऐन ल्याउन मन्त्रालय अरोरात्र खटिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले समायोजनअनुसार कर्मचारी सम्बन्धित तहमा खट्नुपर्ने बताउनुभयो । पूर्वमुख्य सचिव दामोदर गौतमले काम गर्न नसक्ने कर्मचारीलाई बिदा दिनुपर्ने धारणा राख्नुभयो । जर्नलमा पूर्व विशिष्ट श्रेणीका कर्मचारीका आठ लेख समाविष्ट छन् । रासस
No comments:
Post a Comment