Monday, September 18, 2017

सभामुख घर्ती :स्वागत समारोह

काठमाडौँ, २ असोज (रासस) ः नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका अवसरमा सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज स्वागत समारोहको आयोजना गर्नुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक नियोगका प्रमुख, सांसदहरु, उद्योगी, व्यवसायी, यहाँस्थित कूट्नीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको प्रक्रियामा अगाडि बढिरहेको र उपलब्धि संस्थागत हुने चरणमा रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको तीनवटै चरणको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर १० र २१ गतेका लागि तय भएको सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान कार्यान्वयन प्रक्रियाले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले संविधान कार्यान्वयनको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेका विभिन्न विधेयक संसद्ले पारित गरिसकेको र केही विधेयक पारित हुने चरणमा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन प्रक्रियामा सहभागी र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनको प्रक्रियामा रुपान्तरित व्यवस्थापिका–संसद्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार बाँकी रहेका काम सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दल पूर्ण रुपमा सफल हुने अपेक्षा व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले राष्ट्रिय दायित्व पूरा गर्न र नेपाली जनताको चाहनालार्ई सम्बोधन गर्न सबै पक्षले विगतदेखि नै अँगाल्दै आएको सहमति, सहकार्य र एकतालाई आगामी दिनमा पनि कायम राख्न आग्रह गर्नुभयो ।

संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts