Tuesday, September 26, 2017

फरार १२ कैदी नियन्त्रणमा लिन कठिन

चौतारा, १० असोज। विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन ।

विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

सुन तस्करीको अभियोगमा लिजुएन, जुल्पिङ झो पिङलगायत नौ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले दश वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो । उनीहरुलाई थुनुवा कोठामा राखिएको थियो ।

त्यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेञ्जिङ छिरिङ भुटियालाई आठ वर्ष कैद र रु नौ लाख ८५ हजार ३१६ जरिवाना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा नौ वर्ष कैद तथा रु एक लाख जरिवाना गरिएको थियो । त्यस्तै खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छ ।

फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउनुहुन्छ । कारागारबाट भागेका नेपाली कैदीलाई क्रमिकरुपमा पक्राउ गरिएको र विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

भूकम्प आएलगत्तै कारागारबाट २१६ जना कैदी भागेका थिए । फरारमध्ये ११८ जना सम्पर्कमा आइसकेका छन् र अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए । भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकामा २०५९ सालदेखि फरार रहेकाहरु छन् । सुन चोरी पैठारी अभियोगमा चार वर्ष कैद तथा रु २० करोड जरिवाना तोकिएको भोटेकोशी गाउँपालिका लिस्ती निवासी दावा तामाङ र डेढ वर्ष कैद र रु छ लाख ८१ हजार ७८३ जरिवाना तोकिएका भ्रष्टाचारी मुद्दाका अभियुक्त मेलम्ची नगरपालिका–२ भोटेचौर निवासी श्रीराम खतिवडालाई प्रहरीले हालै नियन्त्रणमा लिएको छ ।

सम्पर्कमा आइसकेका फरार अभियुक्तलाई स्थान अभावले विभिन्न जिल्लामा पठाउने गरेको सो शाखाले जानकारी दिएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts