Monday, September 18, 2017

नेमकिपा जुम्लाका १३९ कार्यकर्ताद्वारा पार्टी परित्याग

जुम्ला, २ असोज (रासस) ः नेपाल मजदुर किसान पार्टी जुम्लाका १३९ जना कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित १३९ जनाले आज पत्रकारसम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी स्थापना भएको ४४ वर्षसम्म फैलिनुको सट्टा खुम्ँिचदै जाने र यसको विषयमा पार्टी नेतृत्वलाई बारम्बार सुझाव दिँदा पनि यथास्थितिमै रहिरहने शैली देखिएकाले आफूहरु बाहिरिने निष्कर्षमा पुगेको सङ्घका केन्द्रीय पूर्वउपाध्यक्ष धितालले जानकारी दिनुभयो ।

धितालले भन्नुभयो, “नेमकिपाको रणनीति राम्रो भए पनि कार्यनीति, शैली र गतिविधि सही हुन सकेन र पार्टी खुम्चिरह्यो जसले कार्यकर्तामा निराशा छाइरह्यो ।”

परिणामस्वरुप नेमकिपा परित्याग गर्नु परेको र छोड्दा आफूलाई कुनै पश्चाताप नरहेको पनि उहाँले बताउनुभयो ।

सम्मेलनमा समाजवादी व्यवस्था स्थापनाका लागि माक्र्सवाद, लेनिनवाद तथा माओत्सेतुङ विचारधारालाई आत्मसात् गर्दै देश र जनताको सेवा गर्न पूर्णप्रसाद धिताललको संयोजकत्वमा ‘बृहत् कम्युनिष्ट पार्टी निर्माण अभियान’ गठन गरिएको सार्वजनिक गरिएको थियो ।

यता नेमकिपा जुम्लाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले पूर्णप्रसाद धितालले गत वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा भाग लिँदा शिक्षकबाट राजीनामा दिएपछि पार्टीको कुनै पनि जिम्मेवारी नरहेको जनाउनुभयो । पार्टीमा कुनै हैसियत नभएको उनलाई यही भदौ ३१ गते सिंजा गाउँपालिकाको इकाई कमिटीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको अध्यक्ष डाँगीको भनाइ थियो ।

आफ्नो राजनीतिक जीवनको ३२ वर्षपछि पार्टी परित्याग गरेका धितालले आफूले जिल्लाभरिका सबै कार्यकर्तासँग सुझाव लिएर भदौ १८ गते सिंजामा भेला गरी व्यापक छलफलबाट नेमकिपामा नबस्ने निधो गरिसकेको बताउनुभयो ।

अब न्यूनतम शर्त पूरा गर्ने कम्युनिष्ट पार्टीसँग समायोजन गरेर जाने उहाँको भनाइ छ ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts