Saturday, September 16, 2017

दुई महिनासम्म पनि विद्युत् सेवा सञ्चालन भएन

गुल्मी, १ असोज (रासस) ः दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत सम्भार नहँुदा विगत लामो समयदेखि बिजुली बत्ती बाल्न नपाउँदा आफूहरुलाई निकै समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकाश श्रेष्ठले बताउनुभयो ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सोही वडाका करिब ३५० घरधुरीका उपभोक्ता विगत दुई महिनादेखि अन्धकारमा बस्दै आएका छन् भने विद्युत् सेवा बन्द भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कुटानी पिसानीलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् ।

लामो समयदेखि विद्युत् सेवा ठप्प भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई घरमा बिजुली बत्ती नहुँदा लेखपढमा समस्या हुनाका साथै मोबाइल फोन सेवा बन्द हुँदा निकै समस्या भइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
विद्युत्को ट्रान्समिटर चेकजाँच र विद्युत् सञ्चालन गराउनका लागि भोलिसम्म विद्युत्का इन्जिनियर आइपुग्ने र त्यसपछि ट्रान्समिटर जाँच, प्राविधिक समस्या समाधान गर्ने र विद्युत् सेवा सञ्चालन हुने विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts