काठमाडौँ, २४ भदौ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ज्येष्ठ नागरिकको अनुभव र शीपलाई समाजिक रुपान्तरणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
बल्खुस्थित कुमारी क्लबको ३२औँ साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री केसीले ज्येष्ठ नागरिकले आर्जन गरेका ज्ञान, कला कौशलतालाई देश विकासमा लगाउनसकेमा मुलुकमा आर्थिक विकास कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा समाजसेवाका माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “जनताको सेवालाई केन्द्रमा राखेर निःस्वार्थ भावनाले समाज सेवा गर्ने संघसंस्थाको खाँचो छ ।”
मन्त्री केसीले खेलकुदका माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन सकिने हुँदा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले दुई वर्षदेखि रोकिएको ए डिभिजन फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि शुरु गर्न लागिएको जानकारी दिँदै दशरथ रंगशाला मैदान चाँडो पुनःनिर्माणको माग गर्नुभयो ।
क्लबका अध्यक्ष मोहन बस्नेतले स्थानीय पूर्वाधार विकास निर्माणमा आफ्नो संस्था क्रियाशील रहेको बताउँदै मुलुकमा राजनीतिक स्थिरता कायम गरी अब आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा १३ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment