Wednesday, September 27, 2017

सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।

असोज १ गतेबाट बैंकिङ कारोबार भएका सात दिनमा सो रकम बितरण गरिएको हो । बैंकका प्रबन्धक हेमराज मरहठ्ठाका अनुसार नोटको अभाव नभएकाले मागे जति रकम वितरण गरिएको बताउनुभयो ।

गत वर्षहरुमा दशैँको बेला नोटको अभाव हुने गर्दथ्यो । नोटकोषको जिम्मेवारी भएकाले जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाले यसै शाखाबाट नोट लैजाने गर्दछन् । मरहठ्ठाका अनुसार जिल्लाका अधिकांश सरकारी र गैरसरकारी कार्यालयका खाता यसै बैंकमा भएकाले उनीहरुमार्फत पनि ठूलो मात्रामा रकम बैंकबाट बाहिरिने गर्दछ ।

जिल्लामा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले वाणिज्य बैंकबाट नोट लैजाने गर्दछन् । चाडपर्वको समयमा शिक्षकको तीन महिनाको तलबसहित दशैँ भत्ता र अन्य कर्मचारीको दशैँ भत्ता, तलब लगायतका सुविधा दिने हुँदा धेरै रकम एकै साथ बैंकबाट बाहिरिने गर्दछ ।

यसैगरी सो शाखाले यही अवधिमा १४ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको छ । जिल्लामा यही असोज २ गतेदेखि नयाँ नोट वितरण शुरु गरिएको थियो । मरहठ्ठाले यस वर्ष पर्याप्त मात्रामा नयाँ नोट वितरण गरिएको जानकारी दिनुभयो ।

बैंकमा आउने कसैलाई पनि रित्तो हात नपठाइएको उहाँको भनाइ छ । गत वर्ष चितवनमा एक करोड ५० लाख रुपैयाँको मात्र नयाँ नोट आएपछि सर्वसाधरणले सहज रुपमा नयाँ नोट पाएका थिएनन् । तर यसपटक आवश्यक मात्रामा नयाँ नोट भित्रिएपछि ग्राहकले सहज रुपमा नयाँ नोट पाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका शाखा नारायणगढ, टाँडी, पर्साढाप, नवलपरासीको गैँडाकोट र कावासोतीबाट नयाँ नोट वितरण गरिएको थियो । बैंकले एक जनालाई अधिकतम १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिइएको मरहठ्ठाले जानकारी दिनुभयो । भरतपुर शाखाले दैनिक ७०० जनालाई नयाँ नोट वितरण गरिएको जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सय, ५०, २०, १० र ५ रुपैयाँका नयाँ नोट वितरण गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts