महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औँ जन्मजयन्तीका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरियो ।
नयाँ बस्ती युवा क्लब जोरपाटीले महाकवि देवकोटा वाटिकामा आज आयोजना गरेको कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले साहित्यकार बाजुराम पौडेल, पत्रकार दीपेन्द्रविक्रम तामाङ र माध्यमिक शिक्षा परीक्षा (एसइई)मा काठमाडौँको पूर्वोत्तर क्षेत्रबाट उत्कृष्ट अंक ल्याउने पल्र्स एकेडेमीका विपुल सापकोटालाई नगदसहित सम्मान गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री बस्नेतले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । पूर्वसांसद रामेश्वर फुयाँलले कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा महाकवि देवकोटाको पूर्ण कदको सालिक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
सो अवसरमा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, नेकपा (एमाले) काठमाडौँका अध्यक्ष कृष्ण राई, नेपाली काँग्रेसका नेता लालबहादुर लामा, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराल, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले देवकोटाको सम्झना वर्षको एकपटक गरेर औपचारिकतामा मात्र सीमित गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा वाटिकामा रहेको देवकोटाको अर्धकदको सालिकमा माल्यार्पणसमेत गरिएको थियो । रासस
No comments:
Post a Comment