प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको फलेवासमा मकै भण्डारण घर निर्माण भइरहेको छ ।
फलेवास नगरपालिका–५ खानीगाउँमा निर्माण भइरहेको सो गोदामघरमा २५ टन मकै भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदामघर निर्माण गर्न लागेको हो ।
खानीगाउँ, मुडिकुवा, शंकरपोखरी, थापाठाना, लिमिठाना र ठानामौलामा उत्पादन हुने मकैको बीउ थन्क्याउन गोदामघर बनाउन लागिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । कृषकले उत्पादन गर्ने मकैको बीउ जोनले खरिद गरेर बजारीकरण गर्ने छ ।
गत आर्थिक वर्षबाट निर्माण थालिएको गोदामघर निर्माणका लागि अहिलेसम्म रु २३ लाख खर्च भइसकेको छ । निर्माण चालु आवको अन्तिमसम्ममा सक्ने लक्ष्य छ । गत आवदेखि मकै जोन कार्यक्रम सञ्चालन भएपछि समूह र सहकारी गठन गरेर कृषकले मकै उत्पादन गरिरहेका छन् ।
यस वर्ष झकलक कृषि सहकारीले १५ टन, आम्बोट कृषक समूहले पाँच टन र लिमिठाना बीउ उत्पादक समूहले तीन टन मकैको बीउ उत्पादन गरेको छ । गोदामघर निर्माण भइनसकेकाले यस वर्षको बीउ सिधै बजार मूल्यका आधारमा बिक्री गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
सिङ्गो गाउँ खरायोपालनमा
यहाँको एक गाउँका पूरै घरधुरी व्यावसायिक रुपमा खरायोपालन गर्दैआएका छन् । जलजला गाउँपालिकाअन्तर्गत पर्ने डाँडाकटेरीका बासिन्दा व्यावसायिक रुपमा खरायो पाल्न थालेका हुन् ।
छोटो समयमा धेरै फाइदा लिन सकिने भएकाले यहाँका कृषक खरायोपालनमा लागेका हुन् । डाँडाकटेरीका २३ घरधुरीले नै खरायोपालनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन् । यहाँका प्रत्येक घरमा १० देखि २० वटासम्म खरायो पालिएको छ । गाउँबाटै बिक्री हुने गरेको स्थानीयवासी शीतबहादुर पाइजाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वार्षिक रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । विगत १० वर्षदेखि यहाँ व्यावसायिक रुपमा खरायो पाल्न थालिएको हो । खरायो प्रत्येक पाँच–पाँच महिनामा ब्याउँछ । एक पटकमा पाँच देखि १२ वटासम्म बच्चा जन्माउने गर्दछ । अहिले बजारमा स्थानीय जातको कुखुराको मासु प्रतिकिलो रु ४०० मा बिक्री भइरहेको छ भने खरायोको मासु रु ३०० मा बिक्री हुन्छ ।
विगत १० वर्षदेखि व्यावसायिक रुपमा खरायोपालन गर्दै आउनुभएका स्थानीयवासी मनबहादुर पुन हरेक वर्ष रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । स्थानीयस्तरमै पाइने घाँसपात, जौ, कोदो, मकै, फापरजस्ता अन्नबाली दानाका रुपमा दिने गरेको उहाँले बताउनुभयो । खरायो गाउँघरमै बिक्री हुने गरेको छ ।
मह उत्पादनबाट वार्षिक बाह्र लाख
मोदी–५ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिना व्यावसायिक रुपमा मौरीपालन गरेर वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।
उहाँको घरमा झण्डै १०० वटा मौरीका घार रहेका छन् । एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले सो व्यवसायबाट गतिलो कमाई गर्न सफल हुनुभएको छ । उहाँले वर्षमा दुई पटक मह निकाल्ने गर्नुभएको छ ।
विसं २०५७ बाट व्यावसायिक रुपमा माहुरीपालन गर्दैआउनुभएका तिमिल्सिनाले उत्पादन गरेको मह घरबाटै बिक्री हुन्छ । उहाँले वर्षमा दुई दर्जनभन्दा बढी घारसमेत बिक्री गर्दैआउनुभएको छ । घरबाटै प्रतिकिलो रु ७०० का दरले तिमिल्सिनाले मह बिक्री गर्नुहुन्छ । उहाँले एउटा याममा सात क्विन्टलभन्दा बढी मह काढ्ने गरेको बताउनुभयो ।
एपी सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्य आम्दानी गर्न सकेको उहाँको भनाइ छ । मौरीपालन व्यवसायबाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको उहाँ बताउनुहुन्छ । रासस
No comments:
Post a Comment