Wednesday, October 4, 2017

नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

यस वर्षको ३७औँ नेपालभाषा साहित्य सम्मेलनमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको छ ।

भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । कार्यक्रममा बिजुक्छेले नेपाल भाषा र साहित्यले इतिहासलाई समेत जीवन्त राखेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पुनः निर्माणमा स्वदेशका इञ्जिनियर, डकर्मी र सिकर्मीलाई मान्यता नदिने तर दाताले उसैको शर्तअनुसार काम गर्नुपर्ने केएफडब्ल्युको शर्त भक्तपुर नगरपालिकालाई मान्य नहुने बताउनुभयो ।

त्यस अवसरमा सम्मानित व्यक्तित्व संस्कृतिविद् तथा साहित्यकार ग्वङ्ग, अधिवक्ता भण्डारीले नेवार जातिको संस्कृति नेपालकै लागि गौरव भएकाले संरक्षणमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक एवं जनमत साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवाल, मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, मनोविद् धनरत्न शाक्य, स्त्रीरोग विशेषज्ञ डा सानुमैयाँ श्रेष्ठ, नेपालभाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष बलराम सिंबञ्जार लगायतले नेपाल भाषा र साहित्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

पत्रकार समाज तथा जनलेखक सङ्घ नेपालका अध्यक्ष लक्ष्मण जोशीको सभापतित्वमा भएको सम्मेलनमा कवयित्री बेबी झा, कवि हरिहर तिमिल्सिना, लेखक अभय श्रेष्ठ, कवि सुरेश परियार, लेखक कृष्णकुमार वैद्यलगायत एक दर्जनभन्दा बढी साहित्यकारले नेपाल भाषाका साथै मैथिली, भोजपुरी लगायतका कविता, गीत, सांस्कृतिक कार्यक्रम, प्रहसन, व्यङ्गको प्रस्तुति राख्नुभएको थियो । साथै एक दर्जनभन्दा बढी साहित्यकारले प्रतियोगी साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो ।

त्यसैगरी कमलविनायकमा विराट नेपाल भाषा सम्मेलन गुथीले आयोजना गरेको ५६औँ साहित्य सम्मेलनमा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले वरिष्ठ साहित्यकार एवं समालोचक प्रा नर्मदेश्वर प्रधानलाई सम्मान गर्नुभयो । उहाँलाई नेवाः परम्पराअनुसार सगुन दिँदै बेतलीलगायत दोसला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । ऐतिहासिक नगर भक्तपुरमा ऐतिहासिक सम्मेलन अटुट रुपमा सञ्चालन हुनुले हाम्रो कला–संस्कृति र भाषा–साहित्यको विकासमा योगदान पुगेको जोशीले जानकारी दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts