विगत एक दशकदेखि नेपालमा आतिथ्य सत्कार तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको राजधानीस्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्टिलिटी एजुकेसन (गेट कलेज) बाट सन् २०१७ को ब्याचबाट ९७ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
गेट कलेजद्वारा शनिबार राजधानीमा आयोजित दीक्षान्त समारोहमा १३ औं र १४ औं ब्याचका ती ९७ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।
इन्टरकन्टिनेन्टल्स होटल्स ग्रुप (आईएचजी)का नेपालका लागि आधिकारिक शैक्षिक प्रतिष्ठान घोषणा भएपछि पहिलो पटक होटल सोल्टीमा आयोजित सो दीक्षान्त समारोहमा नेपालका लागि स्विजरल्यान्डका निमित्त राजदूत चार्ज डे अफेयर्स दीपक एल्मेर र होटलरी स्विस, स्विस होटल एसोसियन, स्विजरल्यान्डकी एकेडेमिक प्रमुख रेबेका गेक्स फेरीले दीक्षित विद्यार्थीहरूलाई उपाधि प्रदान गरे ।
सो अवसरमा नेपालस्थित स्विजरल्यान्ड राजदूतावासका चार्ज डे अफेयर्स दीपक एल्मेरले नेपालका लागि पर्यटन अर्थतन्त्रको मेरुदण्ड र विश्वव्यापी रूपमै पर्यटनका लागि मुख्य आकर्षणका केन्द्र रहँदै आएको अवस्थामा यहाँको पर्यटनले छिट्टै नै फड्को मार्नसक्ने विश्वास व्यक्त गरे ।
नेपालमा आउने १० लाख पर्यटकका लागि सोही अनुसार जनशक्ति तयार पारिनु पर्ने आवश्यकता औंल्याउँदै चार्ज डे अफेयर्स एल्मेरले नेपाल र स्विजरल्यान्डबीच पर्यटन शिक्षामा हाल भइरहेको सहकार्यले यहाँको जनशक्ति विकासमा योगदान पुग्ने बताए ।
स्मरणीय छ, गेट कलेज स्विजरल्यान्डको होटलरी स्विस, स्विस होटल एसोसियनको सम्बन्धनमा नेपालमा होटल व्यवस्थापन शिक्षा प्रदान गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक संस्था हो । जसलाई हालै मात्र इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)ले आधिकारिक शैक्षिक प्रतिष्ठानको मान्यता प्रदान गरेको छ । हालसम्म गेट कलेजबाट नेपालका ७५ जिल्ला तथा १९ देशका करिब ४ सय विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् ।
दीक्षान्त समारोहमा स्काइप सन्देशमार्फत सन्देश दिँदै थाइल्यान्डका ‘माइस पर्यटन’ विज्ञ डा. बर्न भान वलिकले नेपालमा १० लाख पर्यटक छिट्टै पुग्ने प्रक्षेपण गर्दै यसलाई अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।
यहाँको पर्यटन क्षेत्रको मध्यम वृद्धिमात्र भइरहेको भन्दै उनले पोखरासहितका स्थानमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलहरूले १० लाखको संख्यामा पर्यटक पु¥याउन योगदान दिने उनको भनाइ थियो ।
कार्यक्रममा गेट कलेजका प्रमुख खेम लकाईंले नेपालभित्रै विकसित विश्वस्तरका दक्षजनशक्तिका लागि यहाँ हरेक दिन अवसर सिर्जना भइरहेको बताउँदै यो अवसर विशेषगरी पर्यटन क्षेत्रमा सिर्जना भइरहेकाले दक्ष जनशक्ति विदेशिनु नपर्ने दावी गरे ।
अष्ट्रेलियाका शिक्षाविद् एवं गेट एकेडेमिक काउन्सिलकी प्रमुख दलजीत रावले गेट कलेज इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको आधिकारिक शैक्षिक प्रतिष्ठान बन्नुले यहाँका जनशक्तिलाई विश्वस्तरकै अग्रणी होटल समूहमा रोजगारीको अवसर सिर्जना भएको बताइन ।
सो अवसरमा गेट सञ्चालक समितिका अध्यक्ष डा. चिजकुमार श्रेष्ठ, होटलरी स्वीस स्वीस होटल एसोसियनकी प्रतिनिधि रेवेका गेक्स फेब्री, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पारशनाथ यादवले सीपयुक्त जनशक्तिको विकासका अवसरबारे चर्चा गरेका थिए ।
कार्यक्रममा १३ औं र १४ औं ब्याचका उत्कृष्ठ विद्यार्थीहरू विवेक श्रेष्ठ र उज्जवकुमार जोशीलाई नगद, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
No comments:
Post a Comment