Friday, October 20, 2017

निर्धारित मितिमा निर्वाचन हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

“स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,” उहाँले भन्नुभयो ।

नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने छ भन्नुभयो ।

उहाँले नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्को शुरुवात गर्नुभएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन रु १० लाख सरकारका तर्फबाट प्रदान गरिने छ भन्नुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरुपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रुपमा मनाउने गर्छन् ।

यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरव ः राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ ।

सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिनुभयो ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

समारोहमा विभिन्न नेवारी परम्परागत झाँकीसमेत प्रदर्शन गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts