जिल्ला समन्वय समिति इलामका प्रमुख इञ्जिनियर तथा निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुंगानाले हाउजी (बिंगो) मा परेको रु एक लाख ११ हजार १११ वृद्धाश्रमलाई हस्तान्तरण गर्नुभएको छ ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा इलाम बजारमा सञ्चालन गरिएको हाउजीमा उहाँलाई रु एक लाख चार हजार नगद परेको थियो ।
ढुंगानाले आफ्नो तलबबाट रु सात हजार १११ थपेर वृद्धाश्रमलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले इलाम नगरपालिका–१० गोदकमा सञ्चालित माईभगवती वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई आज एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गर्नुभएको हो ।
ढुंगानाले आफ्ना स्व पिता डिल्लीराम ढुंगानाको नाममा सो रकम हस्तान्तरण गरेको बताउनुभयो । वृद्धवृद्धाको लालनपालन र स्याहारसुसारमा खर्च हुने गरी रकम हस्तान्तर गरिएको उहाँको भनाइ छ ।
वृद्धाश्रमको अक्षय कोषमा रकम जम्मा गरिने वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले जानकारी दिनुुभयो । दाहालले रकम उपलब्ध गराएकामा ढुंगानालाई धन्यवादसमेत दिनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका सभापति गणेश बरालले वृद्धवृद्धाको सम्मान गरिए मात्र आफूले पनि सम्मानित जीवनयापन गर्न पाउने धारणा व्यक्त गर्नुभयो ।रासस
No comments:
Post a Comment