Wednesday, November 29, 2017

वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे

चितवन।वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ ।
माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको किनारमा मेस जाली लगाएर वन्यजन्तु बस्ती पस्न नसक्ने व्यवस्था गरिने बताउनुभयो ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले सदरमुकाम भरतपुर आवतजावत गर्दा निकुञ्जमा तिर्नुपर्ने शुल्क आफैँले मिनाहा गरेको जिकिर गर्दै वन्यजन्तुबाट हुने धनजनको क्षतिपूर्तिको रकम सहज तरिकाले उपलब्ध गराइने बताउनुभयो । निकुञ्जको काखमा रहेको माडी क्षेत्रले निकुञ्जबाट फाइदा लिन नसकेको भन्दै उहाँले यसका लागि आवश्यक योजना तयार गरी काम अगाडि बढाइने बताउनुभयो ।

माडीलाई पर्यटकीय नगरीका रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “माडी प्राकृतिक स्रोत साधनले सम्पन्न छ, तर यसलाई उपयोग गर्नुपर्छ ।” उहाँले माडीमा रहेका कच्ची सडक पाँच वर्षभित्र कालोपत्र गरिने बताउँदै रिउ नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने आफ्नो योजना रहेको पनि जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts